किन पूर्ननिर्माण गरिदैछ पोखराको तालबाराही मन्दिरको ?

काठमाण्डौं । पोखरामा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको पूर्ननिर्माण गरिने भएको छ । यो मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्माण गराएका थिए ।
२०७२ सालको भूकम्पका कारण मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएकाले मन्दिरको पूर्ननिर्माण गर्न लागिएको हो । यसरी मन्दिर कोल्टे रहदा जोखिम हुने भएकाले पूर्ननिर्माण आवश्यक भएको बताएको छ ।
मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार चैतको पहिलो सातादेखि मन्दिर पूर्ननिर्माणको काम प्रारम्भ हुनेछ । पूर्ननिर्माण थाल्नु अघि गएको सोमबार र मंगलबार मन्दिरमा प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको थियो ।
यो पूर्ननिर्माण आठ महिना भित्र सम्पन्न गर्ने लक्ष छ। गुठीका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार मन्दिर पूर्ननिर्माणका लागि करिब १ करोड ४५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यसका लागि नेपाल सरकारको पुरातत्व विभागले पचिस लाख सहयोग दिने आश्वाशन दिएको छ भने बाँकी रकम प्रदेश र स्थानीय सरकारसहित भक्तजनहरुको सहयोगमा संकलन गरिने बताइएको छ।
प्रतिक्रिया