बुधबार, जेठ १, २०८२

इरानी विद्यालयमा ग्यास आक्रमण, १०० भन्दा बढी छात्रा अस्पताल भर्ना

नेपालखोज २०७९ फागुन १७ गते २१:४७

एजेन्सी । इरानको तेहरानस्थित छात्रा विद्यालयमा बुधबार भएको शङ्कास्पद ग्यास आक्रमणमा परी १०० भन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । विगत तीन महिनामा विद्यालयका छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्याका सयौं घटनाहरू देखा परेका छन् र यो छात्रा विद्यालयहरू बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्ने इरानका एक सरकारी अधिकारीले बताएका छन् ।

उत्तरपश्चिमी शहर अर्दाबिलमा सात वटा र राजधानी तेहरानमा तीनवटा गरी कम्तीमा १० वटा बालिका विद्यालयलाई निशाना बनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था तस्निमका अनुसार तेहरानका तीन वटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण १०८ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये सबैको अवस्था स्थिर रहेको छ ।

अभिभावकलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले राजधानीको पश्चिमी क्षेत्र तेहरानसारको एक उच्च विद्यालयका विद्यार्थीहरू विषाक्त स्प्रेको सम्पर्कमा आएको जनाएको छ । यसको विस्तृत विवरण भने दिइएको छैन । फार्सका अनुसार छात्रा विद्यालयमा विषाक्त पदार्थको आक्रमण भएको आशङ्कामा सुरक्षा बलले पहिलो पटक तीन जनालाई पक्राउ गरेको छ ।

गत नोभेम्बरदेखि आक्रमणमा विषाक्त पदार्थको प्रयोगको प्रकोप सुरु भएयता करिब एक हजार २०० विद्यार्थीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गर्नुपरेको एक सांसदले बुधबार बताएका छन् । इरानी संसदको स्वास्थ्य समितिका प्रवक्ता जाहरा शेखीका अनुसार तेहरानको दक्षिणमा रहेको पवित्र शहर कोममा करिब ८०० र पश्चिमी शहर बोरुजेर्डमा ४०० जनालाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य मन्त्रालयले कोमका विद्यालयहरूमा फेला परेको पदार्थमा नाइट्रोजनको अंश फेला पारेको उल्लेख गरेको छ ।

प्रतिक्रिया