तत्काल सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित हुनुपर्छ : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारले तत्काल सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित गर्नुपर्ने बताएकका छन । जनकपुरधाममा मधेस प्रज्ञा–प्रतिष्ठान कार्यालयको आज शुभारम्भ गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएको यादवले यी दुई ऐन पारित गर्न नसके सङ्घीयताको जगमा बनेको वर्तमान सरकार पनि फेल हुने तर्क गरे ।
यादवले भने, ‘प्रदेश सरकारले आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोतसाधन नहुँदा चाहेअनुसार काम गर्न सकेका छैनन् । एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ ।’ सङ्घीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुन नसक्ने बताउँदै अध्यक्ष यादवले सङ्घीयता मधेसी समुदायसहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताए । उनले अझै पनि खस शासकले सङ्घीयता नचाहेको चर्चा गर्दै मुलुकलाई एकात्मक प्रणालीमा लग्न खोजेको आरोप लगाउँदै त्यस्तो अवस्था आउन नदिने बताए ।
यादवले भने, ‘सङ्घीयताको विकल्प एकात्मक प्रणाली हुँदैन, सङ्घीयतालाई समाप्त पार्न खोज्ने आफैँ समाप्त भएर जानेछन् ।’ अध्यक्ष यादवले नेपालमा सात वटा प्रदेशमध्ये पहिचानमा आधारित र सङ्घीयताको जननी प्रदेश मधेस मात्र भएकाले मधेस प्रदेशले विगतका कमीकमजोरी सुधार गरी अघि बढ्नुपर्ने बताए । यादवले भने, ‘हामी चुक्नु हुँदैन । हामी चुक्यौँ भने सङ्घीयता र गणतन्त्र दुवै धरापमा पर्छ ।’ कार्यक्रममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वतमान मधेस सरकारले बनाएको आयोग र प्रतिष्ठान कमाई खाने भाँडो मात्र सावित भइरहेको टिप्पणी गरे । उनले प्रतिष्ठान र आयोग बने पनि काम गर्न नसकेको र तलब भत्ता मात्र पकाउने काम भइरहेको दाबी गरे।
प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकासमन्त्री सुरिता साह, अर्थमन्त्री सञ्जयकुमार यादव, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साह, समाजिक विकास मन्त्रालका सचिव, मधेस सरकारका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादवसहितको उपस्थिति थियो ।
प्रतिक्रिया