आजदेखि अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

काठमाडाैं । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा फागुन १९ गते शुक्रबारदेखि सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजित हुँदैछ । आइतबारसम्म सञ्चालन हुने यो महासभाको आयोजना नेपाल महर्षि वैदिक फाउण्डेशन तथा नेपाल आयुर्वेद चिकित्सक सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् ।
महासभामा युरोप, भारत तथा नेपालका तीन सय विज्ञको सहभागिता रहनेछ । महासभाले आयुर्वेदलाई जनजागरणका रूपमा विकास गरी जीवन विज्ञानका रूपमा ग्रहण गर्न सहयोग मिल्ने विश्वास लिइएको छ । फाउण्डेशनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाका अनुसार चार उपवेदमध्येको एक आयुर्वेद स्वास्थ्यका विषयमा पूर्ण ज्ञान भएकाले यसको प्रवर्द्धनका लागि नेपालमा कार्यक्रम आयोजना गरिएको हो ।
महर्षि महेश योगीले वेदका ४० शाखाबाट मुख्य–मुख्य विषय समेटी १२ क्षेत्रमा गर्नुभएको काममध्ये एक आयुर्वेद भएकाले यसका बारेमा जागरण सृजना गर्न कार्यक्रम गर्न लागिएको उहाँले जानकारी दिएका छन् । फाउण्डेशनले वैदिक शिक्षा, कृषि, वास्तुलगायत विषयमा पनि काम गरिरहेको छ । सङ्घका अध्यक्ष डा . श्यामबाबु यादवले भारतमा आयुर्वेद हेर्ने छुट्टै मन्त्रालय भएको उल्लेख गर्दै नेपालमा प्राथमिकतामा नपरेको जडीबुटीमा आधारित औषधि विज्ञानलाई प्रवर्द्धन गर्न महासभाले सहयोग गर्ने बताएका छन् ।
सङ्घले सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण हुनुपर्ने मागलाई नीतिगतरूपमा व्यवस्था गर्न सफल भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको उहाँले जानकारी गराए । यो सम्मेलन एसिया महादेशमै पहिलोपटक नेपालमा आयोजना गर्न लागिएको हो । आज शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्दै छन् । यो सम्मेलन सन् २०१५ मा नेदरल्याण्ड्सको रोयतमोल्ड , सन् २०१७ मा संयुक्त अधिराज्य बेलायतको लण्डन, सन् २०१८ मा नेदरल्याण्ड्समा आयोजना गरिएको थियो । यसैगरी सन् २०१८ मै सोल्भानियामा यो महासभाको आयोजना गरिएको थियो । महासभाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भारतको आयुष मन्त्रालयले पनि सहयोग गरेको छ ।
कार्यक्रमको प्रमुख आयोजक नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेशन, अल इण्डिया आयुर्वेद कङ्ग्रेस दिल्ली तथा अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुने हुन् । अन्तर्राष्ट्रिय आयुर्वेद महासभामार्फत एक्काइसौँ शताब्दीका जनतालाई परम्परागत आयुर्वेद सेवा प्रदान गर्न विश्वव्यापी जागरण गर्ने कार्यक्रम छ ।
आयुर्वेदमा विश्वव्यापी पुनःउत्थान महाअभियान सञ्चालन गर्ने उद्देश्यले आयोजित महासभामा ९० वटा प्रस्तुति रहने जनाइएको छ । यो कार्यक्रमले नेपालमा आयुर्वेदलाई पुनःस्थापित गर्न सहयोग पुर्याउने विश्वास आयोजकहरुको छ ।

प्रतिक्रिया