आइतबार, जेठ ६, २०८१

बाघजात्रा व्यूताउने जमर्को

सुनिल उलक २०७९ फागुन १९ गते ८:०७

पहिले पोखरेली नेवारहरु वर्षभरि नै बिभिन्न जात्राहरु प्रदर्शन गरेर आफ्नो व्यापार प्रवर्द्धन गर्दथे । जात्रा हेर्न लमजुङका गुरुङहरु देखि म्याग्दीका मगरहरु सम्म आउँथे । कास्की वरपरका ब्राह्मण, क्षेत्री लगायत अन्य पनि ओइरिन्थे ।

जात्रा हेर्न आउँदा बिक्रीका लागि बोकेर आउने राडीपाखी, गलैचा वा मरमसला पोखरेली ब्यापारीले किन्दथे भने जात्रा सकेर फर्कदा कपडा, भाडाकुँडा सहित अन्य सामग्री उनिहरुलाई बिक्री गर्दथे । यसरी यो जात्राको मेसोमा दोहोरो व्यापार समेत हुन्थ्यो ।

समय बदलियो, त्यो बेला व्यापार प्रवर्द्धनका लागि निकालिने जात्राहरु अब जोगाउन खर्चालु हुँदै गयो । नाफा नोक्सानका हिसावकिताव हुन थाल्यो । जात्रा निकाल्न आर्थिक श्रोत जुटाउन नै हम्मेहम्मे पर्न थाल्यो । कुनै-कुनै जात्रा त ब्यापारकै रुपमा परिवर्तन भएको पाइन्छ ।

यता पोखरामा देखाइने बाघ जात्रा भने धेरै खर्चालु तर आम्दानी नहुने भएपछि बिस्तारै चासो दिन नै छोडिएको छ । पछिल्लो पटक २०५७ मा देखाइए पछि बाघजात्रा देखाउने चासो कसैले दिएनन् । बिगत वर्षदेखि बाघ जात्रा देखाउन म आफै साथीहरूसंग सहयोग माग्दै हिडें तर कसैले नेतृत्व लिन खोजेनन् । आगामी वर्ष २०८० सालको भदौमा बाघ जात्रा निकाल्ने जमर्को गरेको छु भने सबैको साथ र सहयोगको अपेक्षा छ ।

प्रतिक्रिया