बुधबार, वैशाख १२, २०८१

धर्म र सन्तका कुरा !

सुनील सापकोटा २०७८ असोज ३१ गते १२:३९
सुनील सापकोटा

संन्यासी भन्नबित्तिकै गेरुवा वा सेतो लुगा लगाएको, कपाल र दारी जुँगा पालेको, निधारमा तिलक लगाएको, माछा-मासु, लसुन-प्याज केही पनि न खाने, नित्य बिहान-बेलुका पूजापाठ र योग अभ्यास गर्ने, शान्त स्वभावको हाम्रो आँखा सामु एउटा काल्पनिक ‘इमेज’ बनिहाल्छ ।

यद्यपि सबै सन्त त्यस्ता छैनन्, हुँदैनन् । मलाई के लाग्छ भने पूजापाठ, तीर्थ व्रत गर्ने, माछा मासु नखाने मानिस मात्र सन्त हुँदैन । सन्तपनको सम्बन्ध खानपान र रहन-सहनसँग मात्र छैन । यो सन्तको मनमा रहेको लोभ लालच, माया, प्रेम, करुणा, दया, रिस, आवेग र त्यागसँग पनि सम्बन्धित छ । सन्त हुनु भनेको आफ्नै मनभित्रका व्यक्तिगत इच्छा, चाहना, माया, स्वार्थ र लोभहरुलाई त्याग्नु मात्र होइन ।

बुद्धले भिक्षा माग्दा दाताले जे दिन्थ्यो, त्यही खान्थे । मासु दिए मासु पनि खान्थे । भनिन्छ जिसस रक्सी पिउँथे । अरविन्द स्वामी माछा खान्थे । विवेकानन्द चुरोट तान्थे । आशोले त सेक्सलाई ‘फिजिकल निड’ भनेका छन् । उनको तर्कअनुसार सन्तले ब्रह्मचर्य नै बस्नुपर्छ भन्ने छैन । सन्त निसर्गदत्त महाराज दिनभरि बिँडी तानेर बस्थे । रुसका गरुजेइफ चुरोट र रक्सी पिउँथे । राम कृष्ण परमहंस पनि माछा-मासु खान्थे भनिन्छ ।

एलन वात्टस रक्सी पिएर प्रवचन दिन्थे र उनलाई नशा लागेर डाउन हुँदा घर पुर्‍याउनु पर्थ्यो । स्वयं भगवान् शिव भाङ धतुरो खान्थे । श्रीकृष्ण पनि रसिक थिए । उनका कैयौं श्रीमती थिए । भनिन्छ- कृष्णको जेठो छोराभन्दा उमेरमा सानी रुक्मिणी थिइन् । अर्काकी श्रीमती राधासँग त उनको प्रेम नै थियो । यसबाहेक उनी अन्य गोपिनीहरुसँग पनि राशलीला गर्थे ।

धर्मको सम्बन्ध खान पान, बानी व्यवहोरा, स्वभावसँग छैन । राम्रो हुनु वा कहलाउनुसँग पनि धर्मको सम्बन्ध छैन । धर्म मानव जीवनसँग सम्बन्धित नभइ मानव कल्याणसँग सम्बन्धित विषय हो । मैले अहिलेसम्म बुझेको धर्म भनेको मानव सेवा हो । मानवताको संरक्षण एवं सम्बर्द्धन हो । सबै धर्म मनुष्यजातिको सेवा र कल्याणका लागि हुन् । पूजाआजा, रुढीवाद र परम्परा धर्म होइन । आचारसंहिताहरु पनि धर्म होइनन् । मानवताको सेवा नै ईश्वरको सेवा हो र त्यो नै धर्म हो ।
-उल्लिखित विचार लेखकका निजी हुन् ।

प्रतिक्रिया