स्मृतिमा किशुनजी : संसदमा उनको ऐतिहासिक मन्तव्य

वि.स. १९८१ म जन्मेका नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी)को २०६७ फागुन २० गते निधन भएको थियो । वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न उनीे २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर-उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व यिनले सफलता पूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए । गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व किशुनजीको स्मृतीमा आज हामीले प्रधानमन्त्री पदबाट राजिनामा गर्नु अघि संसदलाई भट्टराईले गरेको संवोधन प्रस्तुत गर्दैछौ ।
मूल्य, मान्यता र सिद्धान्तको राजनिति के हो ? के र कसका लागि राजनीति गर्ने ? भन्ने कुरा वताउन निकै उपयोगी छ । भट्टराईको पुन्य तिथिका अवसरमा उक्त बक्तब्यको मुख्य अंश :
सभामुख महोदय ,
यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक द्वन्द्वले समग्र नेपाललाई प्रभाव पारेको छ । मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीँ बाहिर छैन–हामीभित्रै नै छ । यसमा पद्धतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ । प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक व्यवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन तर, हाम्रो राजनीतिका केही पात्रहरुले दुबैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासनपद्धति निर्धो हुनजान्छ र आजको हाम्रो संकट पनि त्यही नै हो । हाम्रो प्रजातन्त्रका संचालकहरू भनेका हामी ने हौं, त्यसैले हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चकांक्षा छ भने यस संकटका कारक पनि हामी नै हुन्छौं । पद्धति राम्रो छ तर त्यसअनुरुप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ । अहिले प्रधानमन्त्रीको रूपमा मेरो नेतृत्वमाथि संकट आइपरेकाले त्यसबाट बच्न म यी कुराहरु गरिरहेको छैन । किनभने, मेरो धेय प्रजातन्त्रको प्राप्ति र समृद्ध –समुन्नत नेपालको निर्माण थियो । संयोग, परिस्थित र नेपाली जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ । त्यसमा अन्तरिम कालको प्रधानमन्त्री बन्नुमा सर्वोच्च नेता गणेशमानजीको सदिच्छा पनि समावेश थियो र त्यसपटक मैले आफूमाथि आएको जिम्मेवारी पूरा निष्ठकासाथ सम्पन्न गरेको थिए । यस पटक गिरिजाप्रसाद कोइराले स्वयंले आम निर्वाचन २०५६ पूर्व नै, भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेको कुरा सर्वविदितै छ । सम्भवतः त्यही कारणले पनि हाम्रो पार्टी नेपाली काँग्रेसले सुविधाजनक बहुमत हासिल गर्न सम्भव भएको हो । यद्यपि, म यस कुरामा विशेष बल गर्न चाहन्न तापनि मेरो प्रधानमन्त्रीत्वमा जनताको प्रत्यक्ष अभिमतसमेत अभिव्यक्त भएको छ । यसर्थ मेरो प्रधानमन्त्रीत्वमा संसदीय दलको गणित मात्र होइन जनमत पनि अभिव्यक्त भएको हुँदा, म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु । चुनवमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । काँग्रेस संसदीय दलको गणित आफ्नो ठाउ“मा महत्वपूर्ण छ तर काँग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरा सामु उपस्थित भएकाले म आज निर्णायक उत्तर खोजिरहेको छु ।
मेरो आफ्नै पार्टीका सांसदहरुसित मेरो नाममा मागिएको मत पनि छ । उहाँहरुलाई चुन्ने जनताको मतमा मेरो पनि अंश छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका सभापतिले, नेता र काँग्रेसका तमाम सदस्यहरुले जनतासमक्ष र देशका समक्ष गरेका वाचाहरुको स्मरण गर्न आग्रह गरेको हुँ । किनभने भोलि म हट्नासाथ–यसको जवाफ नेपाली काँग्रेसले दिनै पर्ने हुन्छ । मेरो ठाउ“मा प्रधानमन्त्री हुने व्यक्ति पनि यस प्रहारबाट बच्न सक्ने छैन र म स्वयं पनि त्यो प्रश्नको परिधिभित्रै हुनेछु । यसर्थ, म यी विचारहरु सम्मानित सदनसमक्ष राखिरहेको छु । नेपाली काँग्रेसको आन्तरिक राजनीतिलाई सदनकै चर्चाको विषय बनाउने मेरो ध्येय किमार्थ होइन । तर, मेरो आग्रह के हो भने –प्रधानमन्त्री बन्न मजस्तो पूर्वघोषित व्यक्तिले नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संसदसमक्ष आफ्ना विचारहरु राख्न पाउनुपर्छ । अहिले यस विषयमा यहाँबाट निर्णय हुँदैन, त्यो मलाई थाहा छ– तर, मेरो जिज्ञासा राष्ट्रसमक्ष यथानुरूप पुगोस् र यसले राष्ट्रको चेतनालाई सम्बोधन गरोस् – यस्तो मेरो इच्छा छ ।
यावत् प्रतिकूल परिस्थितिका बावजूद् हाम्रो सरकारले देशमा प्राथमिकताका रूपमा रहेका कार्यहरुलाई गति दिने प्रयत्न गरिरहेको छ । मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि भ्रष्टाचार निवारण गर्ने दिशामा सरकार गम्भीर हुनुकासाथै विधिव्यवस्था कायम गर्ने उपायहरु अवलम्वन गरिदै छन् । मैले भ्रष्टाचार निर्मूल गर्ने सङ्कल्प गरेको हुँ। पार्टी संस्थापन पक्षले यसका पक्षमा जनमत बनाउने काम गर्नु स्वाभाविक हुन्थ्यो किनभने मैले त ढिलो–चाँडो अवकाश लिनैपर्दथ्यो–त्यसले मेरा उत्तराधिकारीलाई स्वच्छ शासन दिन सजिलो हुन्थ्यो ।
झण्डै १० महिनाअघि म प्रधानमन्त्रीको पदमा नियुक्त हुँदा यो मुलुक अस्थिर शासन र सत्ताको फोहरी खेलबाट उत्पन्न विकृति र विसंगतिहरुको पीडाले छटपटिइरहेको थियो । त्यसबखत्, नेपाली काँग्रेसलाई बहुमत दिलाएर नेपाली जनताले मुलकलाई स्थिरता र सुशासन प्रदान गर्ने अभिमत प्रकट गरे । नेपाली काँग्रेसले मलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा प्राप्त गरेको त्यो जनादेशको पालना हामीले कति उत्तरदायीत्वपूर्ण ढंगले गर्दै आयौं आफूले आफैंसँग प्रश्न गर्नुृपर्नेभएको छ । म प्रधानमन्त्री बनेको दुई–तीन हप्ता नबित्दैदेखि मेरो खिलाफमा शुरु भएको कचमच आज साँचि नै यो मुलुकको राजनीतिक स्थिरता उपर प्रश्न चिन्हको रुपमा र सुशासनको दिशामा एउटा अड्चनको रुपमा तेर्सिएको मैले अनुभव गरेको छु । किनभने जब–जब सरकारले यो देशको प्रगतिको बाधक भ्रष्टाचार र कमिसनतन्त्रमाथि प्रहार गर्न शुरु गरेको हुन्छ , जब एयरपोर्टदेखिका तस्करहरु कमाउन नपाएर अत्तालिएका हुन्छन्, जब सरकार निमुखा जनतालाई न्याय दिने कार्यक्रमका साथ सुशासनको दिशामा अगाडि बढेको हुन्छ, जब प्रतिपक्षका साथ सौहार्दपूर्ण छलफल गरेर यो देश सबैको साझा हो त्यसैले सबै मिलेर बेथिति हटाउँ, पारदर्शीता ल्याऊ“ अनि हिंसा र आतंक रोकौं भनेर नयाँ नयाँ पहलहरु सुरु भएका हुन्छन् तब– तब यहा“ अस्थिरताका ज्वारभाटा किन उठ्ने गर्छन् ? मैले बुझ्न सकेको छैन । यो मुलुकमा २०५२ सालदेखि सबैको चिन्ताको विषय बनेको कथित माओवादी जनयुद्ध र हिंसाको खेल खेल्नेहरु वार्ताको टेबुलमा आएर समस्याको टुंगो लगाउन तयार भई जुन बेला प्रतिनिधि खटाई रहेका हुन्छन्, त्यही मौका पारेर अविश्वासको तानावाना किन बुनिइरहेको हुन्छ ? आर्थिक वृद्धिदर, निर्यात व्यापार , मूल्यस्थिति, विदेशी मुद्राको सञ्चितिजस्ता आर्थिक परिसूचकहरुमा उत्साहजनक उपलब्धिहरु विगत १० महिनामा हासिल भएका छन् । मानव अधिकार आयोगको स्थापनाको तयारीमा छौं । यसबीच वर्षौदेखि नेपालको टाउको दुखाइ बनेर रहेको भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल भुटान वार्तामा धैरै प्रगति भएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगको अध्यक्षमा नेपाल निर्वाचित हुन लागेको बेला, नर्वेजियन दूतावासको स्थापना तथा प्रजातान्त्रिक नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक फ्रान्स भ्रमणको आमन्त्रणा, विगत दश महिनाकै अवधिमा नेपालको प्रधानमन्त्रीको उपलब्धिपूर्ण बेलायतभ्रमण, खासगरी गोर्खा सैनिकहरुको पेन्सनमा भएको वृद्धि तथा निकट भविष्यमा हुनगइरहेको बेलायतका विदेशमन्त्रीको नेपाल भ्रमण, काठमाडौ“मा साफ गेमको अभूतपूर्व सफलता, वातावरण सुधारमा आएको सुधार, मूल्यवृद्धिमा भएको नियन्त्रण आदि प्रसङ्गहरुले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्धनमा उपलपब्धि भइरहेको बेला सत्ता परिवर्तनको हतार देखापर्नुले के कुरातर्फ सङ्केत गर्छ ?
सभामुख महोदय ,
देशभक्ति दण्डित हुने भीममल्ल र भीमसेन थापाका कथा र व्यथाहरुको अभिषप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइको तात्पर्य कुटल राजनीतिका खेलहरुको विसर्जन र पारदर्शीताको प्रदर्शन हैन ? हामी नेपालीहरुले पचासौं वर्षदेखि राजनीतिलाई एउटा मार्यादाको सीमामा उभ्याउन र मूल्य एवं मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौं । वास्तविक प्रजातन्त्र कायम नभएसम्म हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरु सञ्चारित नभएसम्म राष्ट्र उभो लाग्न र काँचुली फेर्न सक्तै सक्दैन । यो मेरो अटल विश्वास हो । यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु । एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक–पटक अनेक किसिमका घात– प्रतिघात बेहोर्नुपर्यो । तर पनि म विचलित छैन । भविश्यका सन्ततिहरुलाई सत्मार्गतर्फ उन्मुख गराउने आफ्नो कर्तव्यको पालना म निरन्तर गरिरहन चाहन्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो । यदी आस्था र निष्ठाको राजनीति, सिद्धान्त र आदर्शमा आधारित राजनीति साँच्चिकै विसर्जित हुने हो भने—भन्नुपर्छ यो राष्ट्रको भविश्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी नेपाली का“ग्रेसलगायत् सबै राजनीतिक दलका साथीहरुलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ कि हाम्रो मिसन कतै हराउने त हैन ? हाम्रो पहिचान नै विलुप्त हुने त हैन ।
सभामुख महोदय ,
मैले अब यो राष्ट्रको नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भनेर प्रस्तावित गरेको छु । यो त्यस निमित्त कि मुलुकले अब साँच्चिकै नयाँ मोड लिन सकोस् । यो राष्ट्रका दीन जनताले राहतको सास फेर्न पाउन् । सौभाग्यले हामीसंग केही त्यस्ता मानिसहरुको एउटा पुस्ता खडा छ जसले प्रजातन्त्रको मूल्यमा कहिल्यै कुनै सम्झौता गर्न जानेन, जसले प्रजातन्त्रको विकल्प खोजेर भौतारिदै हिडेन । त्यो पुस्ताले आफ्नो सारा जवानीलाई जेल, नेल र प्रवासका अ“ध्यारा कुनाहरुमा सहज समर्पण गरेको मात्र हैन उत्तरदायित्व पाएकाबखत् जस्तै जटील र कठीन खुड्किलाहरुलाई पनि कुशलतापूर्वक पार गरेर आफ्नो इमान्दारी, निष्ठा र क्षमताको प्रदर्शन गरिसकेको छ । यदि यो प्रजातान्त्रिक आन्दोलनको कुनै भविष्य छ भने त्यही पुस्ताको हातमा त्यो भविष्य सुरक्षित छ । हामी यहा“ कयौं व्यक्तिलाई किटेर देखाउन सक्छौं जसलाई कसैले पनि औंला ठड्याउन सकेका छैनन् ।
इतिहासको परीक्षाबाट खरो उत्रिसकेको त्यो पंक्तिलाई पनि हल्का ढंगले प्रस्तुत गर्ने र अवमूल्यन गर्ने जुन खेल र प्रचारवाजी यहाँ चलिरहेको छ त्यो अरु केही नभएर नेपाली काँग्रेसलाई नेतृत्वको संकटमा पु¥याएर प्रजातन्त्रलाई नै कमजोर तुल्याउने एउटा षडयन्त्र हो भनेर म स्पष्ट पार्न चाहन्छु ।
सभामुख महोदय,
मेरो ध्येय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होइन, परिकल्पना पद्धतिको दिशा बदल्नु हो । त्यसका लागि म जुन र जति मूल्य चुकाउनु परे पनि चुकाउछु । त्यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक अभ्यासमा नेपाली काँग्रेसले निवाह गरेको भूमिकालाई निर्वाध र अविच्छिन्न राख्नका लागि म अझै पनि जति त्यागको आवश्यकता छ, त्यति त्याग गर्न तयार र सक्रिय रहनेछु । पार्टी एकताका लागि विगतमा मैले धेरै पटक प्रशस्तै अपमान र तिक्तता सहेको छु । तर, मेरो निवेदन छ–मेरो निष्ठाका विरुद्ध प्रयोग भइरहेको दुष्प्रचारसँग असहमति जनाउनु मेरो कर्तव्य हो भन्ने ठानेर आफ्ना कुरा राख्न म आज सदनमा उभिएको छु । यसो भन्दा मेरो कसैकाप्रति दुर्भावना छैन । यस अर्थ मेरो यस संबोधनलाई अन्यथा नलिइदिन म विनम्रतापूर्वक आग्रह गर्दछु । मेरो आन्तरिक र हार्दिक इच्छा के छ भने हामी हाम्रो राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिवद्धतासाथ कर्तव्य निष्ठ भै काम गरौं । त्यसका लागि यदि सरकारको नेतृत्व परिवर्तनको आवश्यकता छ भने म हर हमेशा तयार छु । मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य–पद्धतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ म त्यति गर्न अझै तयार छु । नेपालको गौरव र प्रजातन्त्रको सम्बद्र्धन मेरो ध्येय हो , उद्देश्य हो र एक निष्ठ विचार हो । मलाई विश्वास छ—नयाँ समय को चुनौती थेग्नसक्ने पुस्ता तयार भइसकेको छ र त्यो पुस्ताको हातमा देशको नेतृत्व सुम्पने मेरो हार्दिक इच्छा पुूरा हुनेछ । मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैनन् । समोऽहं सर्वभूतेषू न मे द्वेष्योऽस्ति न प्रियः तर पनि मेरो लागि नेपाल प्रिय छ, धेरै प्रिय छ—यसका साथै प्रजातन्त्र प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ । त्यो सपना नयाँ पुस्ताले पूरा गर्नसक्छ भन्ने मलाई पूरा विश्वास छ ।
सभामुख महोदय,
सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ । यस अवधिमा संसदका सभामुख—अध्यक्ष र विपक्षी दलका नेताहरु र मेरा आफ्ना दलका सबै साथीहरु र समस्त नेपाली जनतालगायत् सबै माननीय सदस्यहरुले मप्रति प्रकट गर्नु भएको सहृदयता र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु र म आफ्नो पदबाट राजिनामा दिन अहिले नै श्री ५ महाराजधिराजसमक्ष प्रस्तुत हुन गइरहेको कुरा माननीय सदस्यहरुलाई यही रोष्टमबाट जानकारी गराउछु ।
मिति—२०५६—१२—३
धन्यवाद

प्रतिक्रिया