विकास र रुपान्तरण विरोधी शक्तिहरुले सत्ता कब्जा गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको रुपान्तरणका विरोधीहरुले एमालेमाथि प्रहार गरेर फेरी राज्य सत्ता कब्जा गरेको बताएका छन् । उनले आठदलीय गठबन्धनप्रति लक्षित गर्दै राज्यको भलो नचाहने शक्तिबीचको साँठगाँठबाट राज्य सत्ता कब्जा गरिएको बताएका छन् । उनले अहिले अमूक शक्ति एमाले सिध्याउने खेलमा लागेको भन्दै बुद्धिजीवीहरुसँग सहयोग पनि मागेका छन् ।
शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताए । उनले जनतालाई भ्रममा पार्ने, अल्मल्याउने र नेकपा एमाले माथि पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजलाई यो भ्रमजालबाट मुक्त बनाउन सहयोगका लागि आग्रह पनि गरेका छन् ।
ओली एमाले मात्र देश बनाउने शक्ति भएको तर पटक पटक एमाले सत्तामा पुगेका बेला चाारैतिरबाट प्रहार हुने गरेको बताए । उनले नाम नलिएपनि अहिलेको आठदलीय गठबन्धन विकास र रुपान्तरणको विरोधी भएको आरोप लगाए । एमालेको सहकार्यमा सरकार अगाडी बढेको देख्दा जनतामा केहि होला कि भन्ने आसा पलाए पनि त्यसलाई निरुत्साही गर्ने ढंगबाट सत्ता कब्जा भएको बताए ।
ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीबीहरुले भनेको उल्लेख गदै निवार्चन परिणामले गतल साबित गरेको उनको भनाई राखे । उनले भने, ‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन् । उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो । जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस् ।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए ।
उनले देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको भन्दै क्षुद्र स्वार्थमा अल्झिएकाहरूले नै सत्ता कब्जा गरेको दोहोर्याए । देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने बताए । उनले भने ‘दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ । यथार्थ त्यही हो । किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि ।’
उनले भने, ‘सय जना विरोधीले एकै पटक आक्रमण गरे भने नआत्तिनुस्, तपाईँको विचारबाट उनीहरु आत्तिएर एकै पटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन् । नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाइका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन् । उनीहरुले तपाइको विचारलाई इगनोर गर्न सक्थे तर तपाइको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इगनोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन् ।’

प्रतिक्रिया