बिहीबार, असार १२, २०८२

‘डिजिटल नेपालको अभियानलाई सार्थकता दिन प्राधिकरण सक्रिय छ’

नेपालखोज २०७९ फागुन २० गते १८:०२

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपाल निर्माणमा योगदान गर्न प्रतिबद्ध रहेको बताए । प्राधिकरण स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा आज नाचघर जमलमा आयोजित कार्यक्रममा उनले सरकारको दीर्घकालिन नीति अनुसार डिजिटल नेपालको अभियान सफल पार्न आवश्यक योगदान गर्न प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष खनालले अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर निर्माण, नियन्त्रण र नियमनको लागि मस्यौदा अन्तिमचरणमा रहेको बताए । उनले भने ,‘नीजि, सरकारी र अर्धसरकारी सूचनाको सुरक्षित भण्डारण गर्न र राजस्व संकलनमा थप टेवा पुर्‍याउने डाटा सेन्टर स्थापना अपरिहार्य छ ।’

प्राधिकरणले दूरसञ्चार क्षेत्रको विकास, विस्तार, ग्रामिण क्षेत्रमा दूरसञ्चार क्षेत्रको पहुँचको लागि काम गरिरहेको उनले बताए । समसामयिक रुपमा ऐन कानुनको परिमार्जन हुन नसक्दा, सडक, विद्युत जस्ता पूर्वाधारको कमी हुनुले उपभोक्ताले सोचजस्तो सुविधा पाउन नसकेको खनालले बताए ।

कार्यक्रममा प्राधिकरणमा २०५४ साल देखि कार्यरत अध्यक्ष लगायतका पदाधिकारीलाई सम्मान गरिएको छ । रजत जयन्तीको अवसरमा पूर्व पदाधिकारीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनाए । कार्यक्रममै डा. प्रदिप पौडेललाई बर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कृत गरिएको छ भने २० बर्ष देखि कार्यरत चालकद्धय विष्णुहरी फुँयाल र अर्जुन कार्कीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रजत जयन्ती स्मारिका र स्वतन्त्र कर्मचारी संगठनको सातौँ स्मारिका विमोचन गरिएको छ । सोही अवसरमा जयन्ती विशेष आयोजना गरिएको फुटसल कप, हाजिरीजवाफ, दौड, टेवलटेनिस र व्याटमिन्टन प्रतियोगीताका विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया