बुधबार, जेठ १, २०८२

आधा विश्व मोटोपनको सिकार

नेपालखोज २०७९ फागुन २१ गते १५:२५

रोयटर्स । विश्व मोटोपन महासंघको नयाँ प्रतिवेदनले वर्तमान अवस्था यस्तै रहे सन् २०३५ सम्ममा विश्वभर चार अर्बभन्दा बढी मानिस मोटोपनबाट पीडित हुने दाबी गरेको छ । महासंघको २०२३ एटलसले आगामी १२ वर्षमा विश्वको ५१ प्रतिशत जनसंख्या मोटो हुने देखाएको छ । मोटोपनको चपेटामा परेका मानिसमा बालबालिकाको संख्या सबैभन्दा बढी हुनेछ ।

तथ्याङ्कको विश्लेषण गर्दै महासंघका अध्यक्ष लुइज बाउर भन्छन यसबाट केहि स्पष्ट चेतावनी पाईन्छ । नीति निर्माताहरूले स्थितिलाई अझ खराब हुनबाट रोक्न तुरुन्तै कदम चाल्न आवश्यक छ। एक विज्ञप्ति जारी गर्दै बवरले भनेका छन्, ‘यो भन्दा चिन्ताको कुरा के हो भने बालबालिका तथा किशोरकिशोरीहरूमा मोटोपनको दर तीव्र गतिमा बढिरहेको छ ।

प्रतिवेदन अनुसार सन् २०२० को तुलनामा २०३५ सम्ममा मोटा बालबालिकाको संख्या दोब्बर हुनेछ अर्थात् २०.८ करोड केटा र १७.५ करोड केटी भारी शरीर लिएर संघर्ष गर्न बाध्य हुनेछन् । ‘संसारभरका सरकार तथा नीति निर्माताहरूले युवा पुस्ताको स्वास्थ्य, सामाजिक एवं आर्थिक बोझबाट जोगिन सक्दो प्रयास गर्न आवश्यक छ,’ बवर भन्छन् । मोटोपन बढ्नु भनेको स्वास्थ्य समस्याहरू बढनु हो।

मोटोपनका कारण सन् २०३५ सम्म विश्वले ४ हजार अर्ब डलरभन्दा बढी खर्च गर्नुपर्ने महासंघको दाबी छ । यो विश्व जीडीपीको तीन प्रतिशत हो । प्रतिवेदनका लेखकहरूका अनुसार बढ्दो मोटोपनका लागि मानिसहरूलाई दोष दिनुको सट्टा सामाजिक, वातावरणीय तथा जैविक कारकहरूमा ध्यान दिनु उपयुक्त हुन्छ । अधिक तौल र मोटोपन के हो भन्ने यो प्रतिवेदन तयार गर्न बडी मास इन्डेक्स (बिएमआई) लाई आधार बनाइएको छ । बडी मास इन्डेक्स अन्तर्गत मानिसको लम्बाइ र तौलको अनुपात निकालिन्छ। विश्व स्वास्थ्य संगठनको दिशानिर्देश अनुसार २५ भन्दा बढीको बीएमआई स्कोरलाई अधिक तौल मानिन्छ भने ३० भन्दा बढी अंकलाई मोटो मानिन्छ।

२०२० मा विश्वको ३८ प्रतिशत जनसंख्या अधिक तौल र मोटोपनको शिकार थियो। प्रतिवेदन अनुसार आगामी १२ वर्षमा एसिया तथा अफ्रिकाका न्यून र मध्यम आय भएका देशहरूमा सबैभन्दा बढी मोटोपन बढ्ने छ ।

प्रतिक्रिया