खेलकुदलाई सही ढंगबाट बुझ्न सके मात्र राष्ट्रको नेतृत्व गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखोज २०७९ फागुन २३ गते १५:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव र कूटनीतिको आधारस्तम्भ रहेको बताएका छन् ।

उनले खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरक समेत रहेको बताउँदै खेलकुदलाई सही ढंगबाट बुझन सक्नेले मात्र राष्ट्रको नेतृत्व गर्न सक्ने बताए ।

मङ्गलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘खेलकुद आधुनिक युगमा राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ’ उनले भने, ‘यसको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ ।’

खेलकुद क्षेत्रको विकास हुन सुशासन, दिगो विकास र समृद्धि आवश्यक रहेको बताए । उनले खेल कूटनीतिमार्फत ठूलाठूला युद्ध र मानवसिर्जित विपत्ति समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहार टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको घटनाक्रम सबैसामू रहेको बताए ।

प्रतिक्रिया