शनिबार, असार ७, २०८२

‘प्रधानमन्त्रीविरुद्धको मुद्दालाई संक्रमणकालीन न्याय प्रक्रियामा लैजानुपर्छ’

नेपालखोज २०७९ फागुन २३ गते १८:००

काठटमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दालाई सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नपर्ने बताएका छन् । मुद्दालाई क्रमणकालीन न्याय प्रक्रियामा लैजानुपर्ने बताए । साथै उनले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताए ।

मंगलबार सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठकपछि बोल्दै नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा अडिग रहेको स्पष्ट पारे । चाँडो न्याय दिने सवालमा केही कमजोरी भएको स्वीकार्दै द्वन्द्वका पीडितहरुले न्याय र परिपूरण दिलाउने विषयमा सरकारले काम गरिरहेको कुरा आफूलाई जानकारीमा रहेको बताए ।

‘संक्रमणकालीन न्यायका विषयलाई अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुंग्याउनु गलत हुन्छ,’ उनले भने, ‘यो विषयमा सर्वोच्च पनि बोलिसकेको हुँदा यसलाई संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुको विकल्प छैन ।’ द्वन्द्वका पीडितलाई सही ढंगले न्याय दिने प्रयोजनका लागि सरकारले ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ गठन गरेर काम गरिरहेको उनको भनाइ थियो ।

अदालतमा मुद्दा नै पर्न नहुने तर्क ठीक नभएको तर मुद्दामा प्रकृतिलाई सबैले ध्यान दिनुपर्ने बताए । प्रचण्डविरुद्धको मुद्दा सामान्य फौजदारी कानुनबाट टुंगिने विषय नभएकाे प्रष्ट पार्दै मुद्दालाई संक्रमणकालीन न्याय प्रक्रियामा लैजानुपर्ने बताए । अदालतबाट टुंग्याउन खोजिए विषय झनै विकरालतर्फ जान सक्ने उनले बताए ।

प्रतिक्रिया