महिला दिवस किन आवश्यक छ ?

पछिल्लो एक वर्षमा अफगानिस्तान, इरान, युक्रेन र अमेरिका जस्ता धेरै देशमा महिलाहरूले युद्ध, हिंसा र नीति परिवर्तनका बीच आफ्नो अधिकारको लागि लडिरहेका छन् । अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि मानवअधिकारको क्षेत्रमा प्रगति रोकिएको छ । किनभने महिला र केटीहरूलाई उच्च शिक्षाबाट वञ्चित गरिएको छ । उनीहरूलाई घरबाहिर काम गर्न र पुरुष अभिभावकविना लामो दूरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालिबानले महिलाहरूलाई घर बाहिर वा अन्य व्यक्तिको अगाडि आफ्नो पूरै अनुहार छोप्न आदेश दिएको छ।
महसा अमिनी नामकी २२ वर्षीया युवतिको मृत्युपछि इरानमा विरोध प्रदर्शन भड्किएको छ । महसालाई इरानको मोरालिटी पुलिसले १३ सेप्टेम्बर २०२२ मा पक्राउ गरेको थियो । उनी बिरुद्ध सार्वजनिक स्थानमा महिलाले स्कार्फले टाउको छोप्ने कडा नियम तोडेको आरोप थियो । त्यसयता इरानमा विरोध प्रदर्शन सुरु भयो जुन अझै जारी छ । इरानमा थुप्रै महिला तथा पुरुषहरूले अहिले महिलाहरूका लागि राम्रो अधिकारको माग उठाइरहेका छन् । उनिहरु वर्तमान राजनीतिक नेतृत्वमा पनि परिवर्तन होस् भन्ने चाहन्छन् ।
आन्दोलनकारीको नारा ‘महिला, जीवन र स्वतन्त्रता’ रहेको छ । इरानको सरकारले ती प्रदर्शनहरूलाई ‘दंगा’ भन्दै कडाइका साथ व्यवहार गरिरहेको छ। आन्दोलन दबाउने सरकारको प्रयासमा अहिलेसम्म ५०० भन्दा बढी मानिसको मृत्यु भैसकेको बताईन्छ ।
२४ फेब्रुअरी २०२२ मा रूसी सेनाले युक्रेनमा आक्रमण गर्यो । युक्रेनमा युद्ध सुरु भएदेखि नै खाद्यान्नको अभाव , कुपोषण र गरिबीका कारण महिला र पुरुषबीचको खाडल फराकिलो भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । युद्धका कारण सिर्जित मूल्यवृद्धि र अभावले युक्रेनमा महिला हिंसाका घटनाहरू बढेका छन् ।
२४ जुन २०२२ मा अमेरिकाको सर्वोच्च अदालतले रो बनाम वेडको ऐतिहासिक कानूनलाई उल्ट्यायो । यो कानुन अनुसार अमेरिकी महिलालाई गर्भपतन गर्ने अधिकार थियो । सर्वोच्च अदालतको फैसलापछि पूरै अमेरिकामा यसको विरोध भयो । अहिले अमेरिकी महिलाहरूले गर्भपतनका लागि मेक्सिकोलाई छनौट गरिरहेका छन् किनभने २०२१ को एक ऐतिहासिक निर्णयपछि मेक्सिकोमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ ।
यद्यपि पछिल्ला केही वर्षयता महिलाको अवस्थामा सुधार पनि आएको छ । दस वर्षको संघर्ष पछि नोभेम्बर २०२२ मा युरोपेली संसदले एक कानून पारित गर्यो । उक्त कानुन अनुसार २०२६ सम्ममा सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनीहरूको बोर्डमा महिलाहरूको ठूलो प्रतिनिधित्व सुनिश्चित हुनेछ ।
युरोपेली युनियनका अनुसार , ‘धेरै महिलाहरू छन् जो शीर्ष पदहरूमा बस्न योग्य छन् । हाम्रो नयाँ युरोपेली कानूनले हामी यी महिलाहरूलाई ती पदहरूमा पुग्ने वास्तविक अवसर सुनिश्चित गर्नेछौं ।’ यसबीच, अर्मेनिया र कोलम्बियामा पितृत्व बिदा सम्बन्धी कानुन पनि परिवर्तन गरिएको छ । यस सँगै स्पेनले महिनावारीमा स्वास्थ्य बिदा लिने र गर्भपतनको सुविधा बढाउन कानुन पारित गरेको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०२२ को बेइजिङमा सम्पन्न शीतकालीन ओलम्पिक खेलकुद सबैभन्दा लैङ्गिक सन्तुलित भएको जनाएको छ । यी खेलहरूमा सहभागी कुल खेलाडीमध्ये ४५ प्रतिशत महिला खेलाडी थिए । तै पनि महिला र पुरुषबीच लैङ्गिक समानता पूर्णरुपमा प्राप्त हुन सकेको छैन ।
२०२३ मा फिफा महिला फुटबल विश्वकपको विस्तार भएको छ। अहिले यसमा ३६ टिम सहभागी हुँदैछन् । यो खेलअघि अमेरिकी फुटबल महासंघले ऐतिहासिक सम्झौता गरेको छ । यसअन्तर्गत महिला र पुरुष टिमलाई समान पारिश्रमिक दिइनेछ । कुनै पनि खेलमा महिला र पुरुषले समान पारिश्रमिक पाउन लागेको यो पहिलो अबसर हो । समान पारिश्रमिकको माग गर्दै महिला खेलाडीहरूले अनेकन मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया