बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

बाँके । बाँके जिल्लामा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा नौ हजार क्विन्टल मात्र धान खरिद गरेको जनाएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।
उनका अनुसार यस वर्ष जिल्लाका आठ सय ४० जना किसानबाट मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल गरेर २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा धेरै कम नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । तीन सय ४० जना किसानबाट मध्यम धान सात हजार क्विन्टल र मोटा धान दुई हजार क्विन्टल गरेर नौ हजार क्विन्टल धान खरिद गरिएको हो । जिल्लामा रहेका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो ।
उक्त निर्धारित समयभन्दा निकै ढिला गरी धान खरिद सुरु गरेकाले अधिकांश किसानले बाध्य भएर पहिले नै व्यापारीलाई बिक्री गरिसकेकाले कम्पनीमा धान विक्री गर्न नगएको बाँके डुडुवा–४ का किसान रामगोपाल बर्माले बताउनुभयो । उहाँले कार्यालयले ढिलो गरी खरिद सुरु गरेको र पछिल्लो समय व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेकाले किसानले कम्पनीलाई धान बिक्री नगरेको बताए ।
सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ तोकेको थियो । बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य छ .वटा पालिकाबाट निकै कम सङ्ख्यामा किसान धान बिक्री गर्न आएको सो कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया