बुधबार, असार ११, २०८२

‘प्रविधिको दुरुपयोगले गर्दा महिलामाथि हिंसा बढेको महसुस गर्छु’

नेपालखोज २०७९ फागुन २४ गते १५:१७

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले तीनै तह (स्थानीय, प्रदेश र सङ्घ)को निर्वाचनमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार उठाउनुपर्ने नीतिगत व्यवस्था आवश्यक रहेको बताइन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा नेपालखोज सँग कुराकानी गर्दै उपाध्यक्ष अर्यालले महिलालाई राजनीतिक अवसरको सवालमा उपमा मात्रै समायोजन गर्ने पितृसत्तात्मक प्रवृत्तिलाई पाखा लगाउन जरुरी रहेको बताइन् । 

सङ्घ र प्रदेशको निर्वाचनमा समानुपातिक र स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष र वडा सदस्यमा मात्र स्पेस दिने परिपाटीले महिलाको नेतृत्व क्षमतामा सुधार र प्रर्याप्त अवसर नजुरेको उनको भनाइ छ । उनले भनिन्, ‘वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुख, प्रदेश र प्रतिनिधि सभा सदस्यमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य उठाउनुपर्ने नीति बनाउन आवश्यक छ । त्यसो हुँदा मात्र महिला महिलासँग वा महिला पुरुषसँग प्रतिस्पर्धा गर्ने वातावरण सृजना हुन्छ ।’जसले खुला प्रतिस्प्रर्धाका लागि महिला तयार हुँदै जाने उनको भनाइ छ । समानुपातिक प्रणालीले महिलालाई राजनीतिक रूपमा कमजोर बनाएको अर्यालको भनाइ छ ।

बितेका १० वर्षमा महिला माथि हुने हिंसाका घटना ७ गुणाले बढेको प्रहरीको तथ्याङ्कको विषयमा राष्ट्रिय सभा उपाध्यक्ष अर्याल प्रविधिको दुरुपयोगले महिलामाथि हिंसाका घटना बढेको बताउँछिन् । उनले भनिन्, ‘यौनिक हिंसाका घटनामा प्रविधिको दुरुपयोग प्रमुख कारण लाग्छ । त्यसमा महिला होस् वा पुरुष, कुनै न कुनै पक्षबाट दुरुपयोग भएको छ । जसले घटना निम्त्याएको छ । ती घटनाबाट सबैभन्दा पहिले महिला प्रताडित छन् ।’

उपाध्यक्ष अर्यालको राजनीतिक सङ्घर्ष बुझ्ने नेपालखोजको कोसिसमा उनले खुलेर आफ्नो अनुभव सुनाइन् । ‘परिवारको साथ राम्रो पाएँ । मेरो श्रीमान्ले मलाई साथ दिनुभयो । काखमा छोराछोरी लिए पनि राजनीतिक अभियानमा सक्रिय भएको सघर्षपूर्ण क्षण छ ।’उनले भनिन् । उनले महिलाहरूलाई सङ्गठित गर्ने, उनीहरूलाई बचत गर्ने बानीको विकास गराउने, महिला हिंसा भएको स्थानमा जबरजस्त हस्तक्षेप गर्न र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने सवालमा ग्रास रुट लेबलमा सघर्ष गरेकै कारण जनताबाट अनुमोदित भएको बताइन् ।

‘समर्पित भएर लाग्ने हो भने परिर्वतन सम्भव छ’राष्ट्रिय सभा उपाध्यक्ष अर्याल बत्ताउँछिन् । उनले थपिन् ‘पहिले महिला भएकै कारण, त्यसमाथि पनि कम्युनिस्ट भएका कारण नपत्याउने महिलाहरू बिस्तारै नजिकिँदै आउनुभयो । पछिल्ला चुनावी सभामा पुरुष भन्दा महिला दिदीवहिनीहरु बढी सहभागी हुन्थे ।’

उनले अनुभवको पोको फुकाउँदै भनिन्, ‘पुरुषहरू महिला महिलाको प्रतिस्पर्धालाई सामान्य ठान्छन् । जब महिलाले पुरुष सँग प्रतिस्पर्धा गर्ने क्षमता बनाउँछ । तब पुरुषले महिलालाई गर्ने व्यवहार अलि फरक पाइन्छ ।’ राजनीतिका सुरुका दिनमा महिलाले नै महिलाको अस्तित्व नस्विकार्ने अवस्थाबाट सङ्घर्ष गर्नुपरेको उनको अनुभव छ ।

वि.सं. २०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी अर्याल २०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् । २०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बनेकी उनी २०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म नेपाल सरकारको स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हालिन् । वि.स. २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित बनेकी अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित बनेकी थिइन् ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया