ट्राफिक प्रहरीको सफलता : २३ दुईपाङग्रे सवारी धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २३ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी सम्बन्धीत धनीलाई हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए ।
यस आर्थिक वर्षको हालसम्म हराएको भनि निवेदन परेको ११६२ वटामध्ये ३५३ वटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये आजको २३ वटा सहित ३२८ ओटा दुईपाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ ।
फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ ओटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा बुझाइएको छ । अन्य फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको जनाइएको छ ।
चालु आर्थिक बर्षको धनी नखुलेका ९५ वटा दुईपाङ्गे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ वटा सवारी साधन बुझाइएको हो ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले पनि आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायतका सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नको लागी प्रहरी उपरीक्षक काफ्लेले आग्रह गरेका छन् ।
प्रतिक्रिया