नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

नेपालखोज २०७९ फागुन २५ गते २१:५९

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुगेका थिए । पौडेल निवास पुग्नासाथ बटुकहरूले स्वस्ति वाचन गरेर स्वागत गरेका थिए । घरपरिवार आफन्तले सगुनका साथ फूलमाला, खादा र अबिर लगाएर बधाई दिँदै खुसी साटेका थिए । निवास परिसरमा जम्मा भएको भीडले पौडेल निवास उल्लासमय बनेको छ । रङ्गीचङ्गी बत्तीको झिलिमिलीले पौडेलको घर सिँगारिएको छ ।

बधाई दिने र आपसमा खुसी साट्नेहरूको चहलपहलले बेग्लै रौनक थपेको छ । उपस्थित अधिकांश फोटो र सेल्फी लिन भ्याइनभ्याइ देखिन्थे । राष्ट्रपति पौडेल निवासमा आज राति अबेरसम्म बधाई तथा शुभकामना दिने र खुसी आदनप्रदान चल्ने जनाइएको छ । निवासमा नेता कार्यकर्ता र आफन्तको भीड छ । जिल्लावासीहरूको पनि उत्तिकै बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया