महिलालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउनुपर्छ : माओवादी केन्द्र

काठमाडौं । राष्ट्रपति निर्वाचनबाट नयाँ राष्ट्रपति पाएको एक दिन नबित्दै दलहरुबीच उपराष्ट्रपति पदमा कसलाई र कुन पार्टीका उम्मेदवार बनाउने विषयमा फरकफरक दाबी सुरु भएको छ ।
आठ दलीय गठबन्धनबाट साझा उम्मेदावर बनाइएका कांग्रेस वरिष्ठ नेता समेत रहेका खस आर्य समूदायका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको भोसलपल्टै दलहरुबीच उपराष्ट्रपति पद कुन दलले लिने भन्नेमा दाउपेज मात्र नभई कुन लिंग वा समूदायबाट उम्मेदवार उठाउनेसम्मको बहस सुरु भएको हो ।
गठबन्धका एक घटक जसपाले राष्ट्रपति कांग्रेसलाई दिने भनी निर्णय भएकै बेला उपराष्ट्रपति जसपाले लिने सहमति भएको दाबीसाथ पार्टीका सांसद समेत रहेका मधेशी समुदायका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय बिहीबार भएको राष्ट्रपति निर्वाचनको मत गणना सुरु नहुँदै गरिसकेको थियो । उक्त हतार निर्णयले पनि उपराष्ट्रपति पदबारे गठबन्धनभित्र विवाद रहेको जनाउ दिइसकेको थियो ।
यस्तै, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले त उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताइसकेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति नभइसकेको स्पष्ट पारे ।
महासचिव गुरुङले जनु दलले लिएपछि उपराष्ट्रपति पदमा महिला उम्मेदवार हुनुपर्नेमा पार्टी स्पष्ट रहेको बताए । आगामी चैत ३ मा हुने भावी उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ५ मा सकिँदैछ ।
यसैबीच आगामी चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि सकेसम्म महिला, नभए खस आर्यबाहके फरक लिङ्ग वा समूदायबाट महिला वा पुरुष उम्मेदवारको मात्र मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय नयाँबानेश्वरलाई आजै मात्र निर्देशन दिएको छ ।

प्रतिक्रिया