देवी देवतालाई फूल अर्पण गर्दा पालन गर्नुपर्ने नियम

हिन्दू धर्ममा देवी-देवतालाई प्रसन्न तुल्याउन तथा उनीहरूको आशीर्वाद प्राप्त गर्न पूजा- आजा गरिन्छ । देवी-देवताको पूजामा धेरै प्रकारका सामग्री प्रयोग हुन्छ। ती मध्ये फूल पनि एक हो ।
हिन्दू धर्ममा फूल चढाउने चलन हजारौं वर्षदेखि चलिआएको छ । कुनै पनि शुभ कार्य तथा पूजामा सम्बन्धित देवतालाई मनपर्ने फूल चढाए उहाँ सजिलै प्रसन्न हुनुहुन्छ भन्ने विश्वास गरिन्छ । हिन्दू धर्म शास्त्र अनुसार विभिन्न प्रकारका फूल विभिन्न देवी-देवताका प्रिय छन् ।
देवी-देवताहरूलाई मनपर्ने फूल चढाए उनिहरुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिन्छन् । शास्त्रमा देवताहरूलाई फूल चढाउने नियम पनि उल्लेख छ ।
भगवान गणेश : भगवान गणेशलाई प्रथम उपासक र बाधाहरू हटाउने देबता मानिन्छ । भगवान गणेश प्रसन्न हुनुभयो भने भक्तहरूका सबै दुःख-कष्ट हरिन्छन । भगवान गणेशको पूजामा रातो घन्टे ( हिबिस्कस ) फूल चढाउनु शुभ मानिन्छ । यो फूललाई भगवान गणेशको प्रिय फूल मानिन्छ । यसबाहेक चम्पा , चमेली र पारिजातको फूल पनि गणेशको पूजामा चढाउन सकिन्छ ।
भगवान विष्णु : भगवान विष्णुलाई पृथ्वीको रक्षक भनिन्छ । भगवान विष्णुका सयौं नाम छन् । श्रीहरि विष्णुको आराधना गर्दा उहाँलाई मनपर्ने फूल चढाए उहाँले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुन्छ । भगवान विष्णुको पूजामा जुही, चम्पा, केतकी तथा वैजयन्ती फूल चढाउनुपर्छ । यी फूल भगवान विष्णुलाई चढाउँदा सौभाग्य प्राप्त हुने जनविश्वास छ ।
माता दुर्गा : माता दुर्गालाई शक्तिकी अधिष्ठात्री देवी मानिन्छ । ब्रह्माण्डमा जति पनि शक्ति छ, त्यो सबै माता दुर्गाकै कारणले भएको हो, त्यसैले माता दुर्गाको पूजामा विशेष ध्यान दिनु पर्दछ । पूजा गर्दा रातो गुलाफ वा घन्टे (हिबिस्कस ) फूल चढाए देवी दुर्गा प्रसन्न हुन्छिन् । यसबाहेक माता दुर्गालाई अपराजिता , चम्पा , सेतो कमल पनि चढाउन सकिन्छ।
भगवान शिव : भगवान शिवको पूजा गर्ने अनगिन्ती मानिस छन्। भगवान शिव आफ्ना भक्तहरूमाथि सजिलै प्रसन्न हुने विश्वास गरिन्छ । उहाँलाई भोलेनाथ पनि भनिन्छ । भगवान शिवको पूजामा धतुरो , नागकेसर, हरसिङ्गार सहित कुनै पनि सेतो फूल चढाउनु शुभ मानिन्छ ।
प्रतिक्रिया