स्ववियु निर्वाचन : प्रचारप्रसार गर्न रंगरोगन तथा पोस्टर टाँस्न नपाइने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशनसँगै प्रचार प्रसार पनि खुला गरिएको छ । हिजाे अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने भएका हुन् ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेद्वारले आदेखि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।
स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ । यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
प्रतिक्रिया