उपराष्ट्रपति निर्वाचन : सुरु भयाे मौन अवधि

काठमाडौं । निर्वाचन आयोगले चैत ३ गतेका लागि तय गरेको उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको हो ।
मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् गएराति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु गरिएको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।
उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया