नेपाली सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

काठमाडौं । नेपाली सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ भएको छ । चैत्र एक गतेबाट नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं.११ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेका हुन ।
नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको कार्यक्रममा शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै बलाधिकृत रथी राणाले तालिमले शिक्षार्थी अधिकृतहरुमा व्यवसायिक सैनिक शिक्षा मार्फत पेशागत ज्ञान अभिवृद्धि सहित जटिल परिस्थितीहरुमा उचित एवं प्रभावकारी निर्णयहरु लिन सक्ने क्षमताको विकास गर्न मद्दत पुर्यालउने विश्वास व्यक्त गरे । उनले रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
महिला–१ र पुरुष-३२ जना गरी जम्मा ३३ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरुको सहभागिता रहेको यस तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि संचालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा संचालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला ९ जनासहित जम्मा २७२ जना अधिकृत प्रशिक्षित भएका छन् ।

प्रतिक्रिया