उपराष्ट्रपति निर्वाचन आज, आजै नतिजा

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । उपराष्ट्रपति पदका लागि चारजना उम्मेद्वार छन् ।
नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेद्वार छन् ।
उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् । प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेका छन् । मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको निधन भएको थियो ।
मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ सार्वजनिक हुने छ ।
प्रतिक्रिया