शुक्रबार, चैत १६, २०८०

जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर

नेपालखोज २०७९ चैत ४ गते ९:४६

काठमाडाैं । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ ।

भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो । मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् । गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ छ । भूकम्पपछि पुरानो संरचना जोखिमपूर्ण तथा विगतको चुहिने ताम्रपत्र पनि जीर्णाेद्धार गरिएको हो ।

जीर्णोद्धार गर्न करिब रु २६ लाख खर्च भएको छ । निर्माणाधीन सत्तल सम्पन्न गर्न रु ७० लाख र हवकुण्ड निर्माणमा रु १३ लाख खर्च हुनेछ । जीर्णाेद्धार तथा थप संरचना निर्माणका लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खड्काले बताए । हाल मन्दिरमा सङ्कलित भेटीबाट नै निर्माणको काम अघि बढेको छ। तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यारोहण गरेका थिए । उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो ।

विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रुपमा बुवासँग मागेर आफूसँगै ल्याए । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ । मन्दिरमा वर्षको दुई पटक बडादसैं र चैतेदसैंमा विशेष पूजा हुन्छ ।

प्रतिक्रिया