शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंको वायु गुणस्तरमा सुधार

नेपालखोज २०७६ फागुन १८ गते ७:४८

काठमाडौँ । काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ।

यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्ने लक्ष्य राखेको छ। डब्लूएचओका अनुसार कुनै स्थानमा पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिन्छ। वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको देखाएको थियो।

घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ । विश्वको जनसंख्याको ९२.५ प्रतिशतभन्दा बढी मानिस हावामा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी पीएम २.५ रहेको स्थानमा बस्छन् । आईक्यू एअरको शनिबार प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा काठमाडौं उपत्यका १३७ औं स्थानमा छ ।

स्विट्जरल्यान्डमा मुख्यालय भएको ‘आईक्यू एअर’ सन् १९६३ मा स्थापना भएको अमेरिकी कम्पनी हो । यसले हरेक वर्ष विश्वका प्रदूषित सहरका बारेमा प्रतिवेदन सार्वजनिक गर्छ । यसले सन् २००० देखि वायुको गुणस्तरसम्बन्धी अध्ययन अनुसन्धान गर्न थालेको हो । सन् २०१७ देखि यसले विश्वका सहरको प्रदूषण मनिटरिङ विश्लेषण गर्दै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया