बिहीबार, वैशाख ६, २०८१

ताजमहलमा राणा परिवार

सुनील उलक २०७९ चैत ४ गते १३:५५

ब्रिटिस भारतको भाइसराय तथा गवर्नर जनरल फ्रिमान थोमसले राणा प्रधानमन्त्री जुद्धशम्शेरलाई भारत भ्रमणको निम्तो पठाएको थियो । दिल्ली दरवारमा भाइसरायको निम्तो सहर्ष स्विकार गर्दै जुद्ध शम्शेर बि.सं. १९९१ को माघ ३ गते दिउँसोको ठिक १२:१५ को शुभसाइतमा जावलाखेल दरवारबाट निस्किएका थिए । देशमा महाभूकम्प गएको एक वर्ष मात्र भएको थियो । जताततै भताभुङ्ग थियो । भत्केका मन्दिर, दरवारहरु तथा अन्य संरचना पूनर्निर्माण हुदै थिए । अचानक भाइसरायको निम्तोलाई नकार्न सकेनन् वा चाहेनन् तसर्थ तुरुन्तै दिल्ली दरवार भ्रमणको तैयारी गरेका थिए ।

भोलीपल्ट माघ ४ गते अमलेखगञ्ज पुगे । ४ दिन अमलेखगञ्जमा नै आराम गरेर माघ ८ गते एनजिआरको रेलमा रक्सौलको लागी निस्किए । दिउसो ३:४५ मा रक्सौल पुगे ४:३० मा त्यहा तैयार अवस्थामा राखिएको स्पेशल ट्रेनमा जौनपुरको लागी हिडे । जौनपुरमा महाराजाको लागी बिशेष ब्यबस्था गरिएको हुँदा त्यहि बास बस्ने गरि रेल तैयार राखिएको थियो ।

रेलमा महाराजाका पारिवारिक सदस्य र भाइभारदार गरेर १४३ जना थिए । भने नोकरचाकर ११० जना साथमा थिए । सबैको सम्पूर्ण ब्यबस्था भारत सरकारले नै गराइदिएको थियो । महाराजाको लागी बनाइएको रेलको बिशेष सुटमा मोहनशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, सूर्यशम्शेर, नारायणशम्शेर, बडाकाजी मरिचीमान सिंह, काजी रत्नमान, राजगुरु पण्डित हेमराज तथा केही अन्य थिए । रक्सौलमा भव्य स्वागत तथा विदाइ पछि जौनपुरको लागी रेल हिड्यो ।

जौनपुरको छोटो बसाइमा मुख्य मुख्य स्थलको भ्रमण पछि स्पेशल ट्रेनको अगाडी इञ्जिनमा नेपालको राष्ट्रिय झण्डा फरफराउदै माघ १० गते आग्रा पुगे । आग्रामा महाराजा आराम गर्न डाक बंगला तर्फ लागे भने साथमा आएका अन्य मोहनशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, सूर्यशम्शेर, नारायणशम्शेर ताजमहल घुम्न निस्किए । यहाँ राखिएको तस्विरमा राणा परिवार ताजमहलको अगाडी बसेको देख्न सकिन्छ ।

आग्राबाट बल्लभगढको लागी रवाना भए जहाँ महाराजा उनका भाइभारदार तथा नोकरचाकरको लागी बस्ने ब्यबस्था मिलाइएको थियो । बल्लभगढमा रेलबाट महाराजा ओर्लनु अगाडी महाराजाले नेपालबाट नै लगेका २५ जना भुसतिघ्रे सुरक्षा गार्डले सुरक्षा दिएको थियो । त्यहा केही समयको बसाइ पछि दिल्लीको लागी हिडे । माघ १३ गते बिहान ११:१५ मा दिल्लीमा पुग्दा महाराजाको भव्य स्वागत भएको थियो । १९ टोपको सलामी तथा बिशेेष रुपले सजिएको बग्गीमा राखेर निजामको दरवारमा बस्ने प्रवन्ध मिलाईएको हुँदा त्यति सवारीको ब्यबस्था गरिएको थियो । कनाटप्लेस, क्विन्सवे, किङ्गस्वे, वार मेमोरियल हुदै निजामको दरवार जाँदा बाटो भरि उभिएका जनताहरुले “नेपाल महाराज कि जय” को नारा लगाएका थिए । दरवार जहाँ महाराजाको बस्ने प्रबन्ध मिलाइएको थियो, त्यहा पुग्दा गोर्खा रेजिमेन्टका गोर्खाली सैनिकहरुले बिशेष रुपमा गुलावको फूल वर्षाएर स्वागत गरेका थिए ।

दरवारमा महाराजा जुद्धशम्शेरलाई स्वागत गर्न पण्डित मदनमोहन मालविय, पण्डित दिनदयाल, भाइ परमानन्द लगायतका पुगेका थिए । श्री ३ जुद्धशम्शेरको दिल्लीमा भएको भव्य स्वागतको फिल्म पनि मेरो संग्रहमा रहेको छ ।

प्रतिक्रिया