बिहीबार, चैत १५, २०८०

तापक्रम बढेसँगै बाका नदीका लाखौँ माछा मरे

नेपालखोज २०७९ चैत ४ गते १७:२७

अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार यति धेरै माछा यसअघि मरेका थिएनन् । अति ताप लहरका कारण माछा मरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा नदीमा पानीभन्दा मरेका माछा देखिन्छन् ।

पानीको सतह देखिदैन आँखाले भ्याएसम्मको दृश्यमा मरेका माछा मात्र छन् । शुक्रबार बिहान स्थानीय बासिन्दाले लाखौँ मरेका माछा नदीमा देखेको बताएका छन् ।

तीन वर्षअघि पनि माछा मरेका थिए तर परिमाणात्मक रूपमा त्यो आजको जस्तो थिएन । मानव सिर्जित जलवायु परिवर्तनका कारण ताप लहर लगातार तीव्र हुँदै गएकाले जलचर पनि त्यसको शिकार भएका उनीहरूको अनुमान छ । रासस/ एएफपी

प्रतिक्रिया