बिहीबार, वैशाख १३, २०८१

मौलिक संस्कृति पुगेन घरबासमा

नेपालखोज २०७९ चैत ५ गते ७:१८

काठमाडौं । महिना दिनअघि नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले गुरुङ गाउँ आर्थर डाँडाखर्कमा खबर शिविर सञ्चालन गर्‍यो । गाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई उजागर गर्न सञ्चारकर्मीको समूह आर्थर डाँडाखर्क पुगेको थियो । समुदायस्तरमा सञ्चालित घरबास (होमस्टे) मा, कला, संस्कृति, स्थानीय रहनसहन, खानपिन र गाउँको मौलिकतालाई नजिकदेखि हेर्ने र बुझ्ने उत्सुकता सञ्चारकर्मीमा देखिन्थ्यो ।

‘गुरुङ समुदायको आफ्नै मौलिक परम्परा र संस्कृति पुस्तान्तरण नहुँदा हराउँदै गएको छ । बसाइँसराइका कारण गाउँ रित्तिँदै जान थालेपछि यानीमाया, सुनीमाया, सालै जो भाका सुनिन छाडेका छन् ।’, नेपाल पत्रकार महासङ्घ पर्वत शाखा अध्यक्ष सन्तोष थापाले भने, ‘पर्वतका धेरै घरबासमा मौलिक खालको संस्कृति भेटिँदैन । बेलैमा संरक्षण नगर्ने हो भने लोप हुने खतरा छ ।” मोदी गाउँपालिकास्थित भुक देउरालीको घरबास पनि चर्चित मानिन्छ । छ महिनाअघि कुश्माका युवा गोकुल चापगाईंको एक समूह ग्रामीण रहनसहन र मौलिक संस्कृतिबाट आनन्द लिन भुक देउराली पुग्यो । उनीहरूलाई गाउँको बाजा समूहले बाजागाजा र घरबासमा आबद्ध स्थानीय आमा समूहले फूलमालाले स्वागत गर्‍यो ।

सर्वसाधारणले गाउँ छाडेपछि सुनसान भए पनि घरबासमा आउने पाहुनाका कारण गाउँ रमाइलो हुने गरेको स्थानीयवासीले बताए । लस्करै मिलेको घर, सडक र घरैपिच्छे बल्ने बत्तीले रातमा समेत गाउँ झलमल्ल र उज्यालो देखिन्छ । बिहानीपख सेताम्य हिमालमा सूर्यको किरण ठोकिँदा मन आनन्दित हुन्छ । चापगाईले भने, ‘घरबासमा सोचेर आएको जस्तो भएन । हामीले स्थानीय परिकारदेखि गुरुङ समुदायको सांस्कृतिक कार्यक्रमको अपेक्षा गरेका थियौँ, तर त्यस्तो पाइएन ।’ जिल्लामा अहिले ४७ सामुदायिक घरबास सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा यसमा चार करोड २५ लाख ९७ हजार रुपैयाँ खर्च गरेका थियो । धेरैले प्राप्त रकम सामुदायिक भवन, पदमार्ग लगायतको भौतिक संरचनामा खर्च गरेका छन् । उनीहरूमध्ये कसैले पनि गाउँको मौलिक कला, संस्कृतिको जगेर्नामा रकम खर्चिएको देखिँदैन । राज्यले प्रभावकारीरुपमा अनुगमन नगर्दा घरबास सञ्चालनको रकम दुरुपयोगको गुनासा सुनिने गरेका छन् ।

‘गाउँमा मान्छे छैनन् । खेतबारी बाँझै छ । कृषि उपज धेरथोर त लगाउँछौँ तर बजारबाट नल्याई सुखै छैन । यहाँ आउने पर्यटकलाई सकेसम्म स्थानीय उत्पादन कोदो,मकै, आलु,गुन्द्रुक, लोकल कुखुरा खुवाउने गर्छौं,’ चार भञ्ज्याङ सामुदायिक घरबासकी अध्यक्ष मनसुभा गुरुङले भने,‘यही गाउँबाटै विदेश गएका दाजुभाइले आफ्ना साथीलाई गाउँ घुमाउन ल्याउछन् । कहिले चलचित्र छायाङ्कन गर्ने कलाकार त कहिले विभिन्न सङ्घसंस्थाको बैठक बस्न पनि हाम्रो गाउँ आउने गर्छन् । हाम्रो समयको जस्तो रोधी बसेर रमाइलो गराउन नसके पनि गाउँमा भएका दुईचारजना जम्मा भएर नाचगानसहित मनोरञ्जन दिने गरेका छौँ ।’

घरबास सञ्चालनको धेरै उद्देश्यमध्ये गाउँ आउने पर्यटकलाई ग्रामीण जनजीवन साथै संस्कृतिबारे जानकारी दिनु हो । आवास सुविधा मात्र नभई पर्यटकलाई रीतिरिवाज, कलासंस्कृति र रहनसहनको अनुभव हासिल गर्ने मौका प्रदान गर्नु पनि हो । पर्वतमा सञ्चालित अधिकांश घरबासमा यस्तो गतिविधि समेटिएको पाइँदैन ।

बिहेवारी र रमाइलो कार्यक्रममा सर्वसाधारणको भीड यसै हुने नै भयो । मान्छे मर्दा पनि वरपरका गाउँबाट हूलका हूल व्यक्ति आएर रमाइलो गर्ने गरेको आर्थर डाँडाखर्ककी ५० वर्षीया पार्वती गुरुङले सुनाए । ‘यस गाउँको गुरुङ कोही मर्‍यो भने नजिकको गाउँदेखि थुप्रो व्यक्ति आइपुग्थे,’ गुरुङले आफू १६/१७ वर्ष उमेर हुँदाको स्मरण गर्दै भने, ‘त्यो बेला अरगु (मृत्यु संस्कार) तीनचार दिनसम्म हुने गथ्र्यो ।’

रातभर सालै जो, यानीमाया गीत आफैँ गाउने बजाउने र नाच्ने गरिन्थ्यो । अहिले त ती सबै कहानी भए, गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो ।’ मौलिक संस्कृतिको जगेर्ना गर्ने काम विद्यालयस्तरबाट नै हुनुपर्ने नारायण माविका शिक्षक सञ्जय रेग्मीले बताए । ‘अहिलेको मुख्य समस्या पुस्तान्तरणको हो,’ उनले भने, ‘भूगोल र स्थानीय संस्कृतिलाई मिलाएर पठनपाठन गराउन आवश्यक छ । यसले मौलिकतालाई जगाउन र अघि बढाउन भूमिका खेल्छ । यसका लागि स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माणमा गम्भीर भएर लाग्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया