शुक्रबार, वैशाख ७, २०८१

दुबईबाट फर्किएका अमृतपाल सिंहले पञ्जाब प्रहरी र प्रशासनलाई कसरी विवश बनाए ?

नेपालखोज २०७९ चैत ५ गते १३:००

काठमाडाैं । केही दिनअघि ‘वारिस पञ्जाब दे’ नामक संस्थाका प्रमुख अमृतपाल सिंह र उनका समर्थकहरूले आफ्ना सहकर्मी तुफान सिंहलाई रिहा गराउन अमृतसरको अजनाला प्रहरी चौकी घेराबन्दी गरेका थिए । अमृतपाल सिंह सयौं समर्थकसहित प्रहरी चौकी पुगेका थिए । तिनीहरूमध्ये केहीसँग बन्दुक र तरवार पनि थिए । यसबाहेक उनले आफ्ना पाँच सहकर्मीविरुद्ध परेका उजुरी खारेज गर्ने कुरा पनि गरिरहेका थिए । प्रहरीसँग कुरा गरेपछि मामिला टुंगिएको थियो । यद्यपि त्यस पछि सबैको नजर अमृतपाल सिंहमा पर्यो।

अमृतपाल सिंह को हुन् र उनी कसरी चर्चामा आए भन्ने कुरा थाहा पाउन अलि पछाडि जानुपर्छ । २६ जनवरी २०२१ मा दिल्लीमा कृषि कानूनको विरुद्धमा किसानहरूको ट्र्याक्टर र्‍यालीका क्रममा प्रदर्शनकारीहरू पुलिस ब्यारिकेटिङ तोडेर मध्य दिल्लीमा प्रवेश गरे । यस क्रममा केही मानिसले लाल किल्लाको प्राङ्गणमा सिख धर्मको प्रतीक मानिने खालसा झण्डा फहराए ।

पञ्जाबी कलाकार दीप सिद्धुको नाम पनि ती मध्ये थियो जसका विरुद्ध प्रहरीले यो सबै मुद्दा दर्ता गरेको थियो । सोही वर्षको सेप्टेम्बरमा अर्थात् करिब आठ महिनापछि सिद्धुले ‘वारिस पञ्जाब दे’ नामक संस्था बनाए । करिब पाँच महिनापछि दीप सिद्धुको कार दुर्घटनामा मृत्यु भयो । धेरैले यसलाई षड्यन्त्र भनेका छन् । २९ सेप्टेम्बर २०२२ मा ‘वारिस पञ्जाब दे’ संगठन चर्चामा आयो जब दुबईबाट फर्किएका युवा अमृतपाल सिंहले यसको प्रमुखको पदभार ग्रहण गरे।

यसका लागि पञ्जाबको मोगा जिल्लाको रोडे गाउँमा ‘दस्तार बन्दी’ कार्यक्रम आयोजना गरिएको थियो । रोडे जरनैल सिंह भिण्डरवालेको मूल गाउँ हो । उक्त कार्यक्रममा हजारौं मानिस पुगेर खालिस्तानको समर्थनमा नारा लगाएका थिए । एक अन्तर्वार्तामा अमृतपाल सिंहले आफ्नो जन्म अमृतसरको जादुखेडा गाउँमा भएको र आफू त्यहीँ हुर्किएको बताएका थिए । उनको विवाह १० फेब्रुअरी २०२३ मा बाबा बकालामा भएको थियो । अमृतपाल सिंहका अनुसार स्कुल पढेपछि उनी रोजगारीको खोजीमा दुबई गएका थिए । भारत फर्किएको केही महिनामै उनी पञ्जाबको राजनीतिको केन्द्रबिन्दु बने ।

पंजाबी राजनीतिको केन्द्र

अमृतपाललाई प्रायः १९८४ मा अपरेशन ब्लुस्टारमा मारिएका जर्नेल सिंह भिण्डरवाले सँग तुलना गरिन्छ। कतिपयले उनलाई भिण्डरवाले २.० नाम पनि दिएका छन् । अमृतपालको उचाइ र काठी पनि भिण्डरवालेको जस्तै छ, उनी भिण्डरवाले कै जस्तो देखिन्छन् र बोल्छन् भन्नेहरु प्रसस्तै छन् । अमृतपाल अहिले भिण्डरवाले कै शैलीमा खुलेर खालिस्तानको माग गरिरहेका छन् ।

अमृतपाल भारतका सबै राजनीतिक दलहरूका साथै लागूपदार्थको खुलेर विरोध गर्छन् जुन विगतका वर्षहरूमा पञ्जाबमा निकै गम्भीर मुद्दा बनेको छ । अहिलेसम्म उनले फागुन २३ गते अजनाला प्रहरी चौकी घेराबन्दीबाट सबैभन्दा बढी हेडलाइन्स बटुलेका छन् । यस दिन उनका सशस्त्र समर्थकसँगका केही तस्बिरले मानिसहरूलाई चकित तुल्याउनुका साथै आतंकित समेत बनाएको छ ।

पञ्जाब युनिभर्सिटीका प्रोफेसर आशुतोष भन्छन्, ‘दुबईका २९ वर्षीय पुरुष कसरी रातारात यति चर्चित भए यो अचम्मको कुरा हो। भिण्डरवाले एक धार्मिक नेता पनि थिए । हामीलाई थाहा छ कि कुनै राजनीतिक दलले उनलाई उम्मेदवार बनायो र उनले के गरे भनिरहनु पर्दैन ।’ यता अमृतपालले रातारात पाएको लोकप्रियता रहस्यमय देखिन्छ । त्यसपछि यो प्रश्न पनि उठ्छ कि यति धेरै मानिस उनको साथमा उभिनुको कारण के हो ? प्रोफेसर आशुतोष भन्छन्, ‘जब हिन्दू राष्ट्रको कुरा हुन्छ, सिखहरूलाई लाग्छ कि खालिस्तानको पनि कुरा गर्नुपर्छ । यस्तो अवस्थामा उनीहरूलाई नेताको आवश्यकता महसुस हुन्छ, जुन उनीहरूले अमृतपालमा देख्छन् । त्यसपछि उनीहरूले देख्छन् कि यो व्यक्तिले सिखहरूमाथि भएको अन्याय र अन्य घटनाहरूका बारेमा कुरा गरिरहेको छ, त्यसैले उनीहरूले उनको कुरा सुन्छन्।’ अर्कातर्फ, पञ्जाब विश्वविद्यालयका प्रोफेसर खालिद मोहम्मद भन्छन्, ‘यसबाहेक सामाजिक सञ्जालको पनि ठूलो भूमिका छ । अहिलेको अवस्थामा मानिसहरु सजिलै उनीसँग जोडिन सक्छन् ।’

अमृतपाल कतैबाट निर्देशित छन ?

पञ्जाबमा अमृतपाललाई कसैले ‘प्लान्ट’ गरेको हो कि होइन भन्ने प्रश्न पनि उठिरहेको छ । यो प्रश्नको पछाडि उनी यति छिट्टै लोकप्रियताको शिखरमा पुग्नुका साथै अन्य धेरै कारण पनि दिइन्छ । अमृतपालले बारम्बार भड्काउ भाषण दिए पनि कारबाही हुँदैन भन्ने कारण के हो भन्ने प्रश्न पनि आम जनताले सोध्छन् । उनका समर्थकहरु बन्दुक र अन्य हतियार लिएर हिँडिरहेका छन् भने सामाजिक सञ्जालमा पोस्ट गरिएका हतियारसहितका पुराना तस्विरमा समेत केहीविरुद्ध मुद्दा दायर भएको छ ।

जब अजनालाको प्रहरी चौकी घेराबन्दी भैरहेको थियो पञ्जाबका मुख्यमन्त्री भगवन्त मान राज्यमा लगानी प्रवर्द्धन गर्न मोहालीमा भएको ‘इन्भेष्ट पञ्जाब समिट’मा सहभागी थिए । अजनाला घटनाले सबै ध्यान अमृतपाल तर्फ फर्कायो र यो घटनाले पञ्जाबको कानून र व्यवस्थामाथि प्रश्न उठायो । के यो संयोग मात्र थियो ? यो प्रश्नको जवाफमा पञ्जाब विश्वविद्यालयका प्रोफेसर खालिद मोहम्मद भन्छन्, ‘केही राजनीतिक दलले आम आदमी पार्टीलाई ब्याकफुटमा धकेल्न खोजेको हुनसक्छ, जसबाट अमृतपाललाई फाइदा भैरहेको छ । तर, कुनै प्रमुख राजनीतिक दलले उनलाई समर्थन गरेको देखिँदैन । किनभने सबैले उनको विरोध गरेको पाईन्छ।’ जब अमृतपाललाई ‘कतैबाट निर्देशित’ भएको भन्ने प्रश्न सोधियो तब उनले भने, ‘मानिसहरुले जर्नेल सिंह भिण्डरवालेलाई पनि निर्देशित भनेका थिए ।’

अमृतपाल सिंहको माग

अमृतपालले आफ्नो खालिस्तानको माग लाई लिएर ‘बिल्कुल जायज छ, किनभने सिखहरू भारतमा स्वतन्त्र छैनन् ।’ अमृतपालले भनेका छन, धर्मको स्वतन्त्रताका लागि हाम्रो शरीरमा भएको रगतको प्रत्येक थोपा बग्नेछ भन्ने वाचा छ ।
अमृतपालमाथि सिखहरूको भावना भड्काएको आरोप छ । उनी लागुऔषधको विरुद्धमा पनि धेरै कुरा गर्छन् र युवाहरुलाई लागुऔषध छाड्न आग्रह पनि गर्छन् ।

एक भाषणमा उनले महिलाहरुलाई फेसनको पछि नलाग्न सल्लाह दिएको सुनिन्छ । उनी भन्छन्, ‘दिदीबहिनी र नारीहरूका लागि अपील छ । यो फेसन आउँछ- जान्छ । यो परिवर्तन भैरहन्छ। पटियाला सूट १0 वर्ष पहिले फेसन थियो, अहिले परिवर्तन भएको छ, तर महाराजजी ( धर्मगुरु ) को आवाज ३५० वर्षदेखि चलिरहेको छ । यसमा परिवर्तन आएको छैन ।’

पञ्जाबमा पछिल्ला वर्षहरूमा यस्ता धेरै घटनाहरू भएका छन् जहाँ प्रहरीहरू प्रदर्शनकारीहरूका अगाडि असहाय देखिएका छन् । केही महिनाअघि मुख्यमन्त्री भगवन्त मानले ‘धरना एउटा चलन बन्दै गएको’ बताएका थिए । जसका कारण जनताले समस्या भोगिरहेका छन् । गत वर्ष २९ अप्रिलमा पटियालामा हिन्दू-सिखबीच भएको हिंसामा पनि प्रहरीको लाचारी देखिएको थियो। केही दिनअघि मात्रै चण्डीगढ- मोहाली सीमामा प्रहरीको लाचारीको अर्को ठूलो उदाहरण देखिएको थियो ।

फेब्रुअरी ८ मा, ‘कौमी इन्साफ मोर्चा’ माथि चण्डीगढ प्रहरीलाई ढुङ्गा हानेको र सरकारी गाडीमा तोडफोड गरेको तथा सरकारी सामान लुटेको आरोप लगाइएको थियो । उक्त घटनामा चण्डीगढका १३ भन्दा बढी प्रहरी गम्भीर घाइते भएका थिए । धेरै पुलिसले हात जोडेर लुकेर आफ्नो ज्यान बचाए । उक्त घटनामा मोर्चा विरुद्ध ज्यान मार्ने नियतले प्रहरीमाथि आक्रमण गरेको मुद्दा दर्ता भएको छ । तर, अजनालाको घटनालाई विभिन्न हिसाबले फरक ढंगले हेरिएको छ ।

बीबीसीसँगको कुराकानीमा एक पूर्व प्रहरी अधिकारीले भनेका छन, ‘मैले सन् १९८० को दशकमा प्रहरीको जागिर सुरु गरेको थिएँ। मैले सबै प्रकारका दिनहरू देखेको छु। मैले आतंकवादको युग पनि देखेको छु। यसअघि पनि प्रहरी चौकीमा हमला भैसकेको छ र जनताले पुलिसलाई पछाडि धकेलेका छन । अहिले पनि प्रहरी ब्याकफुट छ तर प्रहरी यति लाचार भएको मैले पहिलोपटक देखेँ ।’

अजनाला घटनाको नतिजा के होला ?

अजनाला घटनामा पञ्जाबका डीजीपी गौरव यादवले भने, ‘घटनाको भिडियोको अनुसन्धान भैरहेको छ। घटनामा घाइते भएका प्रहरीहरूको बयानका आधारमा कारबाही गरिने छ।’ अर्कातर्फ अमृतपालले भनेका छन्, ‘यो अध्याय यहिँ बन्द गर्नुपर्छ, तर प्रहरीले मुद्दा दर्ता गरे आन्दोलन हुनेछ।’ मोहालीका एकजना व्यवसायी भन्छन्, ‘केही दिन यता अवस्था थप बिग्रँदै गएको छ र लगानीकर्ताहरू यहाँबाट पलायन भैरहेका छन्, यो घटनाले त्यसमा थप असर पार्न सक्छ।’

अहिले पञ्जाबको कानून र व्यवस्थाको अवस्था र सरकार र प्रशासनको कार्यप्रणालीमा पनि प्रश्न उठिरहेको छ। यस्तो अवस्थामा पञ्जाब र बाहिरका मानिसहरू पनि प्रश्न गरिरहेका छन् कि यो राज्य बस्न र काम गर्न सुरक्षित छ ? के पञ्जाबमा सन् १९८० को खतरनाक युग फिर्ता हुँदैछ ? आगामी दिनहरूमा पञ्जाब सरकार र केन्द्रले चालेका कदमहरूमा धेरै कुरा निर्भर हुनेछ।

प्रतिक्रिया