शुक्रबार, चैत १६, २०८०

भारतकाे मेघालय- जहाँ महिलाहरुकाे मात्र शासन चल्छ

नेपालखोज २०७९ चैत ६ गते १३:०४

काठमाडाैं । महिलाहरु प्रतिको भेदभाव र दुर्व्यवहारका रिपोर्टहरु बीच भारतमा केहि यस्ता राज्य पनि छन् जहाँ पुरुषहरु अधिक अधिकारको माग गरिरहेका छन् ।

केरला जस्तै मेघालयका खासी जातिका मानिसहरूमा पनि यस्तो मातृवंशीय परम्परा छ । बादलको घर भनिने मेघालयमा बस्ने खासीहरूले मातृवंशीय परम्परालाई निरन्तरता दिदै आएका छन् । राज्यको सबैभन्दा ठूलो खासी समुदायमा वंशसको बागडोर आमाबाट छोरीको नाममा सम्पत्ति सहित हस्तान्तरण गरिन्छ । खासी परिवारमा कान्छी छोरीले सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा पाउँछिन भने उनले नै आमाबाबु, अविवाहित भाइबहिनी तथा सम्पत्तिको हेरचाह गर्नुपर्छ । कान्छी छोरीलाई त्यहाँ खाटदुह भनिन्छ ।

१९९७ मा खासी सोशल कस्टम अफ लिनियेज एक्ट पारित भएको थियो जसले मातृसत्तात्मक संरचनाको पक्षपोषण गर्छ । मेघालयका स्थानीय बजारहरू महिलाहरूले मात्र चलाउँछन् र उनीहरूले नै आर्थिक लेनदेन पनि सम्हाल्छन् । कसै-कसैले खासी पुरुषहरू महिलाहरूलाई छोडेर युद्धमा होमिए पछि मातृवंशीय परम्परा सुरु भएको बताएका छन् । अर्कातर्फ केहिको मान्यता खासी महिलाका धेरै जीवनसाथी हुने भएकाले यो प्रथा सुरु भएको भन्ने छ ।

हिजोआज खासी पुरुषहरू खेलकुदमा सकृय रहन्छन् भने घरको काम पनि सम्हाल्छन् । पछिल्लो समय केही पुरुषले यस्तो मातृसत्ताको विरोध गरिरहेका छन् । सिंगखोंग रिम्पेई थिमेई (एसआरटी) एउटा पुरुष मुक्ति समूह हो । यसको गठन १९९० मा भएको थियो । यो समूहका सदस्यहरू समाजबाट निष्कासनको डरले आफ्नो परिचय खुलाउन चाहँदैनन् ।

खासीका सन्तानले आमाको परिवारको नाम पाउँछन् । यो परम्परा अन्तरगत महिला र सन्तान दुवैले समाजमा स्थान पाउँछन् – महिलाले फेरि विवाह गरे पनि वा विवाह नगरी सन्तान भए पनि । सारा भारत छोराको पछाडि दौडिए पनि खासि जातिमा छोरा जन्मिदा खुसी मनाईदैन । यहाँ अक्सर पुरुषहरू हतास र निराश अनि अल्छी हुन्छन् अनि रक्सी र लागूपदार्थको लत फस्छन् ।

समाज र परिवारमा महिलाको स्थान बलियो भए पनि यहाँको राजनीतिमा भने महिलाहरुको पहुँच निकै कमजोर छ । गाउँका मुखिया अझै पनि पुरुषहरु नै हुन्छन् । मेघालयको ६० सदस्यीय राज्य संसदमा हातका ओैंलामा गनिने जति पनि महिला सांसद छैनन् ।

प्रतिक्रिया