बिहीबार, वैशाख १३, २०८१

क्रिकेटर मल्ल सम्मानीत

नेपालखोज २०७९ चैत ६ गते १४:०५

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र रु ५० हजारसहित सम्मान गरे।

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए । उनले नगरमा खेलकुद क्षेत्रको विकासका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।

क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए । खेलाडी कुशलले उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए ।

प्रतिक्रिया