उपत्यकाको घोडे जात्रा


घोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौँका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाई पालनमा निर्भर गोपालवंशीहरुले गाईको लागि घाँस उत्पादन गरिदिने कुनै देवताको रूपमा जमिन खनेर भित्र भेटिने ढुङ्गालाई पूजा गर्दथे । यही नै पछि लिच्छवी कालमा पशुपति भयो भने मल्लकालमा लुकुमहाद्य पनि बन्यो । तर घोडे जात्रा भने मल्लकालमा पाहाचह्रेको भोलि पल्ट राजाहरू आफ्ना भाइ भारदारका साथ लस्करै मन्दिर दर्शन गर्न जाने गर्दथे । यो लस्कर तथा राजा पनि देख्न पाउने भए पछि उपत्यकावासी तमासा हेर्न टुँडिखेल पुग्दथेँ ।
शाह कालको सुरुमा पनि यही क्रम रहिरह्यो । तर राणा कालमा आइपुग्दा भने राणाहरूले ट्डिखेलमा आफ्ना सैनिक शक्तिको प्रदर्शन गर्दै घोडे जात्रालाई विशाल रूप दिए । हुन त उपत्यकावासीहरूले घोडेजात्रासंग गाँसेर एउटा किंवदन्ती पनि सुनाउने गर्दछ । जुन अत्यधिक प्रचलित पनि छ । इतुंबहामा बस्ने केशवचन्द्र जुवाको लतले सम्पत्ति सिद्ध्याएर बेहाल भएका थिए । एक दिन आफ्नो दिदीकहाँ खाना खान पुगेका उनले खाना पस्केको सुनको थाल नै चोरेर जुवामा हार्छ ।
अर्को पटक फेरी दिदीकहाँ पुगेका उनलाई दिदीले चाँदीको थालमा पस्केर दिए त्यो थाल पनि चोरेर जुवामा हार्छ । तेस्रो पटक दिदीकोमा पुगेका उनलाई भने दिदीले थालमा खाना नदिएर भुईँमा राखिदिन्छ । भोक र रिसले बौलाएका उनले खाना कपडामा पोको पारेर हिँड्छ । थाकेर रुख मुनि निदाएका बेला उनले कपडामा पोका पारेर ल्याएको खाना सबै रुखमा बस्ने चराहरूले खाएर सिद्ध्याइदिन्छ । केशवचन्द्रको खाना खाएका चराहरू सबै रुखमा नै बसेका थिए ।
केशवचन्द्र ब्युझदा खाना सबै खाइसकेको देखे । रिसले बौलाएका उनले चरालाई हान्न के थालेका थिए चराले सुनको बिस्टा गरिदिए । यस पछि खुसी भएका केशवचन्द्रले सबै सुनका बिस्टा जम्मा गरेर कपडामा पोका पारेर बोक्न खोज्दा उठाउन नै सकेनन् । त्यही समय गुरुमापा नाम गरेको राक्षस घुम्दै घुम्दै खानाको खोजीमा त्यही आइपुग्छ । गुरुमापाले केशवचन्द्रलाई खान खोज्छ । बाठो केशवचन्द्रले गुरुमापालाई आफूले जम्मा गरेको सुनको पोका बोकेर घर जान आग्रह गर्दै घर पुगेपछि सिङ्गै राँगो र तीन मुरी चामलको भात खान दिने बाचा गर्दछ ।
यसरी घर लगिएका गुरुमापालाई केशवचन्द्रले बचन अनुसारको खाना दिन्छ । टन्न खाना खाएपछि गुरुमापा निदाउन थाल्छ । तीन दिन पछि ब्युँझिए पछि फेरी खाना माग्न थाल्यो । यसरी लुकाएर राक्षसलाई खाना खुवाएको छिमेकीले थाहा पाए पछि केशवचन्द्रले राक्षसलाई टुँडिखेलमा रहेको रुखमा लुकेर बस्न र त्यही खाना ल्याइदिने बचन दिए । तर यसरी टुँडिखेल बसेका गुरुमापा कहिले काहीँ सहर पसेर बच्चा चोरेर खान थाल्यो । जसले गर्दा मानिसहरू सबै मिलेर उनलाई पिटेर टुँडिखेलमा लडाएर उनको शरीर माथि घोडा दौडाएर घायल बनाइ त्यही गाडिदिए ।
गुरुमापा उठेर सहर पसेर बच्चाहरू नखाओस् भनेर वर्षेनी टुँडिखेलमा गुरुमापाको शरीर माथि घोडा दौडाउन थालियो । साथै गुरुमापालाई केशवचन्द्रले एउटा राँगोको मासु र तीन मुरी चामलको भात खुवाउने बाचा गरेको हुँदा फागु पूर्णिमाको दिन भात पकाएर लाने चलन रह्यो । फागुन पूर्णिमाको अघिल्लो दिन किला घ:का ज्यापू समाजले यँपी ख्य:(भुरुङखेल)मा राँगो काटेर गुरुमापालाई चढाउने र भोलिपल्ट इतुंबहा:को केशवचन्द्र विहार नजिकैको भुतु क्यव:मा २० पाथी चामलको भात पकाइ टुँडिखेलमा लगेर टुँडिखेलको बिचमा गुरुमापाको भाग चढाइ समाजका सबै लहरै बसेर टुँडिखेलमा भोज खाने चलन छ ।
यसरी घोडे जात्रा सुरु भएको भन्ने किंवदन्ती पनि उपत्यकामा प्रचलित छ । आखिर जे जसरी भए पनि घोडे जात्राले भने आजसम्म निरन्तरता पाएको छ ।
प्रतिक्रिया