तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

नेपालखोज २०७९ चैत ८ गते ७:०४

काठमाडाैं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई आयोगमा दर्ता हुन आज चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराउने समय दिएको छ । तनहुँ १ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने दलले आयोगमा दल दर्ता गराउनुपर्ने हुन्छ ।

यसअघि आयोगले चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ताका लागि समय दिएको थियो। आयोगले चितवन २, बारा २ र तनहुँ १ मा २०८०  वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो ।

बारा २ मा निर्वाचित तत्कालीन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए । यस्तै तनहुँ १ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए । रिक्त रहेका ३ प्रतिनिधि सभा सदस्य चयनका लागि वैशाख १० मा एकैदिन उपनिर्वाचन गर्न लागिएको हो।

प्रतिक्रिया