बिहीबार, चैत १५, २०८०

जीवन, जगत र अध्यात्म

कृष्ण कॅंडेल २०७९ चैत ९ गते ६:२६

केही दिन अघि मैले फेसबुकमा एउटा स्ट्याटस राखेको थिएँ। ‘वर्तमान क्षणमा जिउनुभन्दा ठुलो चमत्कार जीवनमा केही पनि छैन’ जीवन विज्ञानले त्यसै भन्छ र सत्य पनि त्यही हो किनभने स्वर्ग र नर्क दुवै यही वर्तमान संसारमा छ । हामीले जीवन कसरी भोग्ने त्यसैमा भर पर्छ ।

धर्म र अध्यात्मलाई छुट्टाउन, खुट्याउन नसकेर भौंतारिएझैं कुहिराेको काग भई रहे त दुःख बाहेक केही पाइँदैन । धर्मले मान्छेलाई एउटा निश्चित घेरामा बाँधेर एकोहोरो बनाउँछ तर अध्यात्मले संसारका सबै मानिस र प्राणीलाई समभावले हेर्छ ।आध्यात्मिकताको आधार भनेकै विश्व प्रेम हो । त्यसैले यो निस्वार्थ प्रेमको जगमा उभिएको हुन्छ ।आध्यात्मिकताले जातपात, धनी गरिब, कालो गोरो सवैमा समभाव राख्दछ । वर्तमान संसारमा आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मान्छे नै सबै भन्दा दुखी छ ।

कसैलाई सम्पत्ति भएर दुख छ कसैलाई नभएर दुख छ । धेरैलाई भएको सम्पत्तिको यथोचित प्रयोग गर्न नजानेर दुख छ । अस्वस्थ प्रतिस्पर्धा र सम्पत्ति थुपार्ने मात्र होडबाजीले मान्छे पाइला पाइलामा दुखी छ तर उ यो कुरा स्वीकार गर्न अझै तयार छैन । जीवन जिउने कला जानियो भने मात्र जीवन सुखी र खुसी हुन सक्छ अन्यथा सदैव दुखको बर्को ओढेर हिँड्नु बाहेक अरू के नै हुन्छ र ? ईश्वर, प्रकृति, अदृश्य शक्ति जे नाम दिए पनि आफ्ना असल विचारका माध्यम बाट तिनको अस्तित्व स्वीकार गर्न सक्ने बोध भयो भने मात्र जीवन र जगतको सार्थकता रहन्छ ।

हजारौँ वर्ष देखी मान्छे ईश्वरको खोजीमा दौडिरहेको छ तर आफै भित्रको ईश्वर चिन्न सकेको छैन । मेरो बुझाइमा श्रीकृष्ण र बुद्धलाई मात्र थाहा थियो परम पिता परमेश्वर हाम्रै अन्तरआत्मामा विराजमान छन् भनेर । त्यसैले गीतामा श्रीकृष्णले अर्जुनलाई विभिन्न योग र तिनको जीवन र जगत सँगको तादाम्यताको बारेमा छर्लंग हुने गरी व्याख्या गर्नु भएको छ । शायद त्यसैले होला विश्वका आध्यात्मिक राजनेता र सिद्ध पुरुषहरूले गीतालाई सर्वश्रेष्ठ ग्रन्थको रूपमा आत्मसाथ गरेको पाइन्छ ।

पूर्वीय दर्शनलाई पश्चिमाहरूले अहिले पच्छ्याई रहेका छन् । हामी कस्तुरी मृगले आफूसँग भएको कस्तुरी चिन्न नसकेझैँ अँध्यारोमा भड्किएका त छैनौँ ? मन सबै इन्द्रियहरूको जोड हो । इन्द्रियविना मन बाँच्न सक्दैन र मनबिना इन्द्रियहरूले काम गर्न सक्दैनन्। काम, क्रोध, लोभ, मोह यी सबैको आधार पनि मनै हो । विचारले यसलाई ऊर्जा दिन्छ । यिनै विचारका अनन्त शृङ्खलालाई कम गर्दै वासनायुक्त मनलाई निर्मल बनाउने प्रयास नै योग र ध्यान हो । भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ‘आध्यात्मिकताको यो प्रथम द्वार मन म नै हुँ।’

प्रतिक्रिया