शनिबार, जेठ ५, २०८१

रावणले लक्ष्मणलाई कस्तो ज्ञान दिए ?

नेपालखोज २०७८ पुष ३ गते ५:००

रावणलाई बाण लागेर घाइते भएपछि रामले आफ्ना भाइ लक्ष्मणलाई रावणसँग ज्ञान लिन पठाएका थिए भन्ने हामीले सुन्न पाउँछौं । लक्ष्मण पनि रावणसँग ज्ञान लिन पठाएकोमा रावणसमक्ष गई पुकार गर्दा रावणले केही पनि जवाफ नदिएपछि दाजु रामसमक्ष आई भगवान, रावणले मलाई कुनै वास्ता गरेननन् भन्दा राम भन्छन्, हे भाई तिमी रावणको शिरपट्टिबाट गयौ होला ज्ञानार्थी त सम्मुख अर्थात् पाउपट्टिबाट गएर विनम्रताका साथ अनुरोध गर्नुपर्नेमा अन्यथा हुन गएकोले अब तिमी पाउपट्टिबाट गएर याचना गर, तिमीलाई रावणले अवश्य ज्ञान पर्दान गर्ने छन् ।

भगवान् रामको आज्ञामुताबिक रावणसमक्ष गई ज्ञान र अनुभवको याचना गर्दा रावणले भने, हे लक्ष्मण ! आफुले गर्छु भनेर कुनै काम गर्न बाँकी राखेको छ भने त्यसलाई तुरुन्त गरिहाल्नु पर्छ किनकि मेरो सुनमा सुगन्ध रोपण गर्ने र नवग्रहको भर्याङ बनाएर स्वर्ग जाने बाटो बनाउने इच्छा हुँदाहुँदै काल आयो । तसर्थ, कुनै कार्य बाँकी छ भने आजै गरिहाल भन्ने जस्ता ज्ञान दिए ।

साथै, रामले युद्ध जित्नाको कारण पनि बताए । रामले युद्ध के कारणले जिते भन्दा हे लक्ष्मण रामको सेना, सम्पत्ति, युद्ध कौशल, सहयोगी वीरहरु युद्धको इतिहास सबैलाई विवेचना गर अनि ज्ञानमा पनि विवेचना गर ।

कुनै पनि कुरामा मेरो र रामको कीर्ति पराक्रम लगायत युद्ध व्यवस्थापनमा कमी छैन । खालि कमी छ, मेरो भाई विभीषण मसँग छैन, रामको भाइ तिमी सँगै छौ । तिमी जस्तो भ्रातानुकूल भाइ मसँग छैन, मेरो भाइ पनि कम पराक्रमी थिएन, त्यो कुलांगारले गरेर मेरो कुलको समूल नष्ट गरायो भनेर भाइको साथको महत्व बताए भन्ने जनश्रुति पाइन्छ ।

परस्त्रीको ललाट (निधार) अर्थात कामभावे परस्त्रीलाई हेर्यो भने परस्त्रीमा आसक्त भयो भने, मतलब परस्त्रीको निधार चतुर्थीको चन्द्रमा एक चौथाई पूर्ण चन्द्रको एकचौथाइ आकार बराबर हुने भएकोले चतुर्थीको चन्द्रमा हेर्यो भने यश, बुद्धि, सद्गति, सुख इत्यादि नष्ट हुन्छ किनकि त्यसको दर्शनको दोषले चोरी गरेको बात तथा परस्त्री गमनको पाप लाग्दछ ।

त्यसैले कल्याण चाहने मनुष्यले परस्त्रीको निधारसम्म हेर्नु हुँदैन । साथै भाद्रशुक्ल चतुर्थीको चन्द्रमा हेर्यो भने चोर दोष लागी मानमर्दन हुन्छ भनी त्यस दिन हाम्रो समाजमा चन्द्रदर्शन बर्जित छ । यदि चन्द्रदर्शन भयो भने त्यसै रात काँक्रा फर्सी चोरेर साथीसँगीहरुलाई खुवाएर चन्द्रदर्शन दोषको प्रतिवाह अर्थात, प्रायश्चित गर्ने चलन छ ।

यसमा अर्को पौराणिक प्रसंग, द्वापरयुगमा भगवान् कृष्णले एक दिन चतुर्थीको भुलवश देख्नुभएछ र त्यसलाई वास्ता गर्नु भएनछ । त्यस कारणले उनलाई सत्राजीतले स्यमन्तकमणि चोर दोष लगाएको दृष्टान्त महाभारतमा उल्लेख गरिएको पाइन्छ ।

रावणलाई पनि सीताजीलाई हेरेको दोष लागेर मृत्युसम्म वरण गर्नुपरेको हो । तसर्थ, सत्पुरुषले परस्त्रीको चाहना नगरी आफ्नो कुल परम्परा अनुसार एक नारी ब्रम्हचारी भई गृहस्थ जीवनयापन गर्नुलाई नै आफ्नो परमकर्तव्य ठानी यस नियमको अनुसरण गर्दछन् ।

प्रतिक्रिया