बुधबार, वैशाख १२, २०८१

कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

नेपालखोज २०७९ चैत ९ गते २१:३४

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै आएकाे छ ।

गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो । उपचारको ३६औँ दिनसम्म आइपुग्दा आज डा. भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेकाे डा. भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।

भण्डारी आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो”, न्यौपानेले भने । डा. भण्डारीले राम्रोसँग बोल्न थालेकाे र स्मरणशक्ति ठीक अवस्थामा रहेको बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ । डा. भण्डारीको फिजियोथेरापी क्रमिकरूपमा भइरहेको न्यौपानेको भनाइ छ ।

सङ्क्रमण रोकथाम गर्नका लागि अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटका लागि बन्द गरेको अस्पतालले जनाएको छ । फागुन ३ गते जलेर घाइते हुनुभएकी भण्डारीकी आमा हरिकलाको भने फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया