स्वर्गीय बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्व राष्ट्रपति डा. यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसका नेता एवम् संविधानसभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन् ।
जन नायक बिपी कोइराला स्मृति ट्रष्टका संस्थापक सदस्य एवम् कोषाध्यक्ष स्वर्गीय बस्नेतको १३औँ पुण्य तिथिका अवसरमा ट्रष्टले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जली सभामा उनले बस्नेत लोकतन्त्र स्थापनाका लागि निरन्तर सङ्घर्षशील नेता भएको बताए ।
‘काँग्रेसको अस्तित्व जोगाउनका लागि स्व बस्नेतको योगदान महत्त्वपूर्ण छ, काङ्ग्रेसभित्र पुरुषोत्तम बस्नेतको तुलनामा हाम्रो योगदान कम छ,’ उनले भने । पूर्व राष्ट्रपति डा. यादवले स्वर्गीय बस्नेतको कृतिलाई जननायक बिपी कोइराला स्मृति ट्रष्टले संरक्षण गर्नुपर्ने बताए ।
वरिष्ठ साहित्यकार डा. अभि सुवेदीले नेपाली साहित्य जगतमा स्वर्गीय बस्नेतको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । नेपाली साहित्य जगतमा पुरुषोत्तमको विशिष्टतालाई हामीले चिन्न सकेका छैनौँ, उनले भने ।
श्रद्धाञ्जली सभामा काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, सुजाता कोइराला, बद्री पाण्डे, पूर्वसभामुख दमननाथ ढुङ्गाना, तारानाथ रानाभाट, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, कार्यकारी निर्देशक राजेन्द्र पराजुलीलगायतको उपस्थिति थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्व सभापतिसमेत भइसकेका स्वर्गीय बस्नेतले राजनीतिसँगै साहित्यिक यात्रा लाईसमेत अगाडि बढाएका थिए ।
लामो समयसम्म काँग्रेसको मुख पत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका स्व बस्नेतले ‘नेपाली काँग्रेसको इतिहासको प्रारूप’ भाग एक र दुई जस्ता महत्त्वपूर्ण कृति लेखेका थिए।
गोरखापत्र संस्थानको पूर्वकार्यकारी अध्यक्षसमेत रहेका स्व बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए ।
लामो समयसम्म काँग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए । जननायक बिपी कोइराला स्मृति ट्रष्टका महासचिव एवम् संविधानसभा सदस्य रामचन्द्र पोखरेलले राजनीतिक जीवनका क्रममा स्व बस्नेत विभिन्न समयमा गरी नौ वर्ष जेल जीवन बसेको बताए ।
स्व बस्नेत अत्यन्त शालीन, सादगी र सरल व्यक्तित्वको रूपमा परिचित हुन् ।
प्रतिक्रिया