शुक्रबार, वैशाख ७, २०८१

योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की

नेपालखोज २०७९ चैत १० गते १५:४३

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाद्वारा आज विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभाव पारी स्वस्थ जीवनयापन गर्न सकिने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले आजका युवापुस्तालाई योग र आहारका सम्बन्धमा ज्ञान प्रदान गर्नु अस्पताल निर्माण गर्नुभन्दा उपलब्धिमूलक हुने बताए । उनले प्राविधिक विश्वविद्यालयले योग शिक्षा अध्यापन तथा यहाँबाट उत्पादन हुने जनशक्ति बजारमा जोड्ने विषयमा बृहत् छलफल एवं अध्ययन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले योग शिक्षाबाट नागरिक स्वस्थ्य भएमा मात्र देश विकासमा सघाउ पुग्ने विचार राखे । उनले प्रदेश सरकार नागरिकलाई स्वस्थ्य राख्नका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका माध्यमबाट अध्ययन–अध्यापन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारीको अवसर सृजना गर्नुपर्ने बताए । प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले मुलुकमा आवश्यक प्राविधिकतर्फको जनशक्ति उत्पादनमा विश्वविद्यालयले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिए ।

सो अवसरमा डा जनक बस्नेतले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, डा दीपेन्द्र श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने उच्च शिक्षाको शैक्षिक पाठ्यक्रम निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया