बिहीबार, वैशाख १३, २०८१

कराते महासंघको महाधिवेशन चितवनमा

नेपालखोज २०७९ चैत १० गते २०:२०

नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ ।

गत माघ १२ गते राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने अधिकार दिएको थियो । त्यहीअनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । महाधिवेशनमा ७६ जना प्रतिनिधिसहित ८० जना सहभागी हुनेछन् ।

कराते महासङ्घको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना तथा महासङ्घमा आबद्ध चार विधाहरु ९सितेरियो, गोजुरियो, वादुरियो र सोतोकान० करातेबाट पाँच–पाँचका दरले २० गरी कूल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउनेछन् ।

करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तीमध्ये हरेक प्रदेशबाट एक–एक गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउने छ । महाधिवेशनले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना सदस्य रहेको समिति चयन गर्नेछ । विसं २०६९ सालमा महासङ्घ गठन भएको थियो ।

प्रतिक्रिया