शनिबार, वैशाख ८, २०८१

सिरियाको अलेप्पो विमानस्थलमा भएको आक्रमणप्रति राष्ट्रसंघ प्रमुखको चासो

नेपालखोज २०७९ चैत ११ गते ८:१५

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको अलेप्पो विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । ‘अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणका कारण संयुक्त राष्ट्रसङ्घीय मानवीय वायु सेवाको एउटा उडान रद्द गरिएको र विमानस्थलमा भएको भौतिक क्षतिप्रति राष्ट्रसङ्घका महासचिव चिन्तित हुनुहुन्छ,’ गुटेर्रेसका उपप्रवक्ता फरहान हकले भने । महासचिवले सबै पक्षलाई लागू हुने गरी अन्तर्राष्ट्रिय मानवीय कानूनलगायत अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आ–आफ्नो दायित्वको सम्मान गर्न सचेत गराएका छन् ।

उनले नागरिकलाई हानि पु¥याउन सक्ने र नागरिक पूर्वाधारमा क्षति पु¥याउन सक्ने आक्रमणबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । यसैबीच सिरियामा भएको ड्रोन आक्रमणमा परी एक अमेरिकीको मृत्यु भएपछि भएको अमेरिकी हवाई आक्रमणमा इरान समर्थित ११ लडाकू मारिएका छन् । उक्त घटनामा अन्य छ जना घाइते भएका छन् । उत्तरपूर्वी सिरियाको हसाकेह नजिकै रहेको अमेरिकी नेतृत्वको गठबन्धनको आधार शिविरमा रहेको मर्मत सम्भार केन्द्रमा कामिकेज ड्रोनले आक्रमण गर्दा एक अमेरिकी ठेकेदारको मृत्यु हुनुका साथै अर्का एक ठेकेदार र पाँच अमेरिकी सैनिक घाइते भएको पेन्टागनले जनाएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा आफूले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग आबद्ध समूहले प्रयोग गर्दै आएका सुविधामाथि आज राति हवाई आक्रमण गर्न आदेश दिएको बताएका छन् । अस्टिनले भने, ‘आजको आक्रमण र सिरियामा आईआरजीसीसँग सम्बन्धित समूहहरूले हालै गठबन्धन सेनाविरुद्ध गरेको शृङ्खलाबद्ध आक्रमणको प्रतिक्रियामा हवाई आक्रमण गरिएको हो । विशेष गरी इराकसँगको सीमा र देइर एजोर प्रान्तको युफ्रेटिसको दक्षिण र पश्चिममा इरान समर्थित लडाकूको सिरियाभरि ठूलो उपस्थिति छ । सोही क्षेत्रमा पछिल्लो अमेरिकी आक्रमण भएको हो । बेलायतस्थित निगरानी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले अमेरिकी आक्रमणमा दुई सिरियालीसहित ११ जनाको मृत्यु भएको जनाएको छ ।

संस्थाका प्रमुख रामी अब्देल रहमानले भने, ‘अमेरिकी हवाई आक्रमणमा देइर एजोर शहरभित्र रहेको एक हतियार डिपोलाई लक्षित गरी गरिएको आक्रमणमा छ जना इरान समर्थक लडाकूको मृत्यु भएको छ भने अन्य दुई लडाकू मारिएका छन् । इरान समर्थित समूहले शुक्रबार बिहान अल–मायादीन शहरनजिकै तीनवटा क्षेप्यास्त्र प्रहार गरेको अब्देल रहमानले जानकारी दिए । सिरियाको सबैभन्दा ठूलो तेल खानी अल–ओमारमा दुईवटा क्षेप्यास्त्र खसेको र तेस्रो क्षेप्यास्त्र नजिकैको एक सर्वसाधारणको घरमा खसेको उनले बताए । संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट समूह (आइएस) को अन्तर्राष्ट्रिय गठबन्धनको अवशेषको एक भागको रूपमा उत्तरपूर्वी सिरियामा लगभग नौ सय सैनिकहरू तैनाथ गरेको छ ।

प्रतिक्रिया