आइतबार, जेठ ५, २०८२

अन्तर्राष्ट्रिय टी–२० मा चौका – छक्काको वर्षा हुँदाको कथा

नेपालखोज २०७९ चैत १३ गते ९:४४

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा आइतबारको दिन आँधीबेहरी नै आयो । उक्त खेलमा भिडियो गेम शैलीमा प्रति बल औसत २ भन्दा बढी रन बन्यो । सेन्चुरियनमा भएको दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेलमा रनको वर्षा भयो र कुल ५१७ रन बन्यो । यसबाट टी–२० क्रिकेटमा पहिलो पटक एउटै खेलमा कुल ५०० भन्दा बढि रन बनेको नयाँ किर्तिमान खडा भयो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले जोनसन चार्ल्सको शतकको बलमा २० ओभरमा पाँच विकेट गुमाएर २५८ रन बनाएको थियो । त्यसपछिको डेढ घण्टामा दक्षिण अफ्रिकाले क्विन्टन डी ककको शतकको मदतमा सात बल बाँकी रहँदै चार विकेटमा २५९ रनको विशाल लक्ष्य पुरा गर्‍यो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३९ बलमा शतक पूरा गरे । चार्ल्सले ४६ बलमा १० चौका र ११ छक्का प्रहार गर्दै ११८ रनको अविश्वसनीय इनिङ खेले ।

उनलाई काइल मेयर्सले २७ बलमा ५१ रन बनाएर राम्रो साथ दिए । दुवैले दोस्रो विकेटका लागि ५८ बलमा १३५ रनको साझेदारी गरे । चार्ल्स प्याभिलियन फर्किएपछि कप्तान रोभम्यान पावेलले १९ बलमा २८ रन बनाए भने रोमारियो शेफर्डले १८ बलमा ४१ रनको आँधीबेहरीपुर्ण ईनिङ खेले । वेस्ट इन्डिजले पाँच विकेट गुमाएर २५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका मार्को जोन्सनले ३ विकेट लिए ।

त्यसको जवाफमा क्विन्टन डी कक र रिजा हेन्ड्रिक्सले ६५ बलमा १५२ रनको विस्फोटक साझेदारी गरे । छैटौं ओभरमा टिमको स्कोर १०० नाघेको तथ्यबाट यी दुईले खेलेको शैली अन्दाज गर्न सकिन्छ । क्विन्टनले पहिलो ओभरको पहिलो दुई बलमा चौका र दोस्रो ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरे । उनले ४४ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए । टी-२० ढाँचामा क्विन्टनको यो पहिलो शतक हो ।

यता, रेजाले २८ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको महत्वपूर्ण इनिङ खेले । दुवै आउट भएपछि रिले रुसो र डेभिड मिलर चाँडै आउट भए । यद्यपि कप्तान एडेन मार्करामले २१ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३८ रन बनाएर दक्षिण अफ्रिकाको जित सुनिश्चित गरे । मार्करामलाई हेनरिक लासेनले ७ बलमा १६ रन बनाएर राम्रो साथ दिए ।

२००६ को सम्झना : यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खलामा १–१ को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल मंगलबार जोहानेसबर्गमा हुनेछ । यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सबैभन्दा राम्रो रन चेज हो अर्थात् यसअघि कुनै पनि टिमले दोस्रो इनिङ्समा यति धेरै रन बनाएर जित्न सकेका थिएनन् । यो खेलले २००६ मा वान्डरर्समा खेलिएको एकदिवसीय खेलको सम्झना गराउँछ, जसमा अष्ट्रेलियाले दक्षिण अफ्रिकासँग ४३४ रन बनाएर पनि खेल हारेको थियो ।

सबैभन्दा ठूलो कुरा के हो भने अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको कुनै खेलमा ५०० रनको उपलब्धि देखिएको यो पहिलो अवसर हो । यसअघि सन् २०१६ को अगस्टमा भारत र वेस्ट इन्डिजविरुद्धको खेलमा ४८९ रन बनेको थियो । यो थियो अन्तर्राष्ट्रिय टी–२० को कीर्तिमान तर अब त्यो रेकर्ड तोडिएको छ । त्यतिबेला वेस्ट इन्डिजले खेल एक रनले जितेको भएपनि यस पटक भने पराजयको सामना गर्नुपरेको छ ।

यति मात्र होइन, कुनै पनि प्रकारको टी–२० क्रिकेटमा ५१७ रन बनेको थिएन् । यहि महिना रावलपिंडीमा खेलिएको पाकिस्तान सुपर लिगको खेलमा मुल्तान सुल्तान्स र क्वेटा ग्लाडिएटर्सबीचको खेलमा ५१५ रन बनेको थियो । तर त्यो कीर्तिमान पनि सेन्चुरियनमा तोडिएको छ ।

सेन्चुरियनमा दुवै देसले जम्मा ३५ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजबाट २२ र दक्षिण अफ्रिकाबाट १३ । पूरा खेलमा कुल ४६ चौका प्रहार भयो । यसअघि कुनै पनि अन्तर्राष्ट्रिय टी–२० मा यति धेरै छक्का – चौका प्रहार भएका थिएनन् ।

प्रतिक्रिया