आइतबार, वैशाख २३, २०८१

म्यानमारका सेना प्रमुखले भने- हाम्रा विरोधीहरू आतङ्कवादी हुन्

नेपालखोज २०७९ चैत १३ गते १४:२४

काठमाडाैं । म्यानमारको सैन्य सरकारका प्रमुख जनरल मिन आङ लाइङले आफ्नो शक्तिविरुद्ध लडिरहेका समूहहरू आतंकवादी भएको बताएका छन् । उनले यस्ता समूह विरुद्ध निर्णायक कारबाही गरिने पनि बताए । सेनाको वार्षिक परेडमा मिन आङ लाइङले भने, ‘मानव अधिकारको मुद्दामा हाम्रो आलोचना गर्ने देशहरू र २०२१ मा भएको कूका बिरोधिहरु सबै आतंकवादका समर्थक हुन्।’

उक्त परेडमा सहभागी थुप्रै सैन्य एकाइहरू बिरुद्ध नरसंहारको आरोप पनि छ । यो परेड सेना स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । दोस्रो विश्वयुद्धका बेला जापानसँग लड्न सन् १९४५ मा म्यानमार सेना गठन भएको थियो । आङ लाइङ २०२१ मा सत्तामा आएका हुन् । सेना सत्तामा आएदेखि यो मुलुकमा गृहयुद्धको अवस्था छ ।

यो संघर्षमा अहिलेसम्म हजारौंले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन भएका छन् । जनरल मिन आङ लाइङले भने, ‘म्यानमारको सेनाले शासनको विरोध गर्नेहरू विरुद्धको युद्ध जारी राख्नेछ, चाहे जुनसुकै मूल्य किन नचुकाउनु परोस ?’
लाइङले म्यानमारमा चुनाव गराउने कुरा पनि गरे । उनले भने, ‘निर्वाचन हुनेछ र विजयी दललाई सत्ता हस्तान्तरण गरिनेछ । यद्यपि म्यानमारमा जारी द्वन्द्वलाई ध्यानमा राख्दा त्यहाँ कहिले चुनाव हुन्छ भन्ने कुरा स्पष्ट छैन् ।

हालै अमेरिकाले नरसंहारको आरोपमा म्यानमारको सेनामाथि फेरि प्रतिबन्ध लगाएको छ । यद्यपि म्यानमारले रुस र चीनजस्ता देशसँग मिलेर काम गरिरहेको छ । सैनिक परेडमा रुस र चीनका अधिकारीहरुको पनि उपस्थिति थियो भने रुस र चीनबाट ल्याइएको हतियार पनि परेडमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया