बुधबार, असार ४, २०८२

कोशी प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

नेपालखोज २०७९ चैत १३ गते २०:४४

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगले आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक समारोहबीच आयोगका सदस्य टुन्जे बराइलीसहितको टोलीले उक्त प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम आयोगको वार्षिक प्रतिवेदन बुझाउने व्यवस्था छ ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै दलितप्रति हुने भेदभाव मुलुकको ठूलो समस्या भएको बताउँदै समाजमा जनचेतना जागृत गराई यसको न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले छुवाछूत, विभेद र अन्याय अत्याचार समाजबाट उन्मूलन हुनुपर्ने बताए । प्रमुख खापुङले भने, “संविधान, ऐन र कानुनको कार्यान्वयन गरी विभेदलाई अन्त्य गर्नुपर्छ ।’

आयोगका सदस्य बराइली मुलुकमा एक्काइसौँ शताब्दीमा समेत दलित भएको कारण अपहेलित, कुटिनुपर्ने, मारिनुपर्नेजस्ता घटना घट्नु दुःखलाग्दो रहेको चर्चा गरे ।

प्रतिक्रिया