शनिबार, जेठ ५, २०८१

दलाई लामाले अमेरिकन मंगोलियनलाई दिए रिन्पोछेको मान्यता

नेपालखोज २०७९ चैत १४ गते ११:२७

काठमाडाैं | तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकामा जन्मेका मंगोलियन मूलका आठ वर्षे बालकलाई दशौं खाल्खा जेत्सुन धम्पा रिन्पोछेको मान्यता दिएका छन् । त्यो पद तिब्बती बौद्ध धर्ममा दलाई लामा र पन्चेन लामापछि तेस्रो सबभन्दा महत्त्वपूर्ण मानिन्छ ।

दलाई लामाको यो कदमले चीन रिसाउने सम्भावना छ किनकि आफूले छानेको बौद्ध नेतालाई मात्र चीनले मान्यता दिन्छ । मार्च महिनाको शुरूतिर धर्मशालामा दलाई लामाले खाल्खा जेत्सुन धम्पा रिन्पोछेलाई मान्यता दिनका लागि आयोजित समारोहको तस्वीर देखिएको थियो । उक्त समारोहमा ५ हजार भिक्षु र भिक्षुणी, ६०० मंगोसलयन र अन्य सदस्यहरू उपस्थित थिए ।

नयाँ रिन्पोछेतर्फ संकेत गर्दै दलाई लामाले भने, ‘उनका पितापुर्खा चक्रसंवरको कृष्णाचार्य वंशसँग निकट थिए । उनीहरूमध्ये एकजनाले यस तपका लागि मंगोलियामा गुम्बा बनाएका थिए । त्यसैले उनी यहाँ हुनु पवित्र क्षण हो ।’

सन् २०१६ मा दलाई लामाले मंगोलियाको भ्रमण गरेपछि अहिले मंगोलियन बालकलाई नयाँ रिन्पोछेको मान्यता दिएका हुन् । दलाई लामाको उक्त भ्रमणमा चीनले आपत्ति जनाएको थियो । सन् १९९५ मा दलाई लामाले पन्चेन लामालाई मान्यता दिएपछि चीनले ती पन्चेन लामालाई गायब बनाएर आफ्नै पन्चेन लामाको घोषणा गरेको थियो ।

प्रतिक्रिया