शनिबार, जेठ ५, २०८१

मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा भीषण आगलागी, ३९ जनाको मृत्यु

नेपालखोज २०७९ चैत १४ गते २१:१३

मेक्सिको । मेक्सिकोको उत्तरी सहर सिउडाड जुआरेजमा अवस्थित एक आप्रवासी डिटेन्सन सेन्टरमा भएको भीषण आगलागी मा परेर कम्तीमा ३९ जनाको ज्यान गएको र कैयौं घाइते भएको समाचार छ । समाचार एजेन्सी एएफपीका संवाददाताका अनुसार राष्ट्रिय आप्रवासन संस्थानको पार्किङमा अग्निनियन्त्रक तथा उद्धारकर्ताहरूले थुप्रै शवलाई कम्बलले छोपेको देखिएको छ ।

राष्ट्रिय अध्यागमन संस्थानमा सोमबार मध्यरातअघि आगलागी भएको थियो । उक्त केन्द्र अमेरिकाको टेक्सास राज्यको एल पासो शहरसँग मेक्सिको सिटी जोड्ने स्ट्यान्टन अन्तर्राष्ट्रिय पुलबाट केही मिटरको दूरीमा अवस्थित छ। यसबीच आएका केही रिपोर्ट अनुसार आगलागी शौचालयबाट सुरु भएको थियो र यसमा आगजनीको आशंका गरिएको छ । भारतीय समाचार एजेन्सी पीटीआईले पनि एपीलाई उद्धृत गर्दै ३९ जनाको मृत्यु भएको र २९ जना घाइते भएको जानकारी दिएको छ ।

एएफपीसँगको कुराकानीमा राहत तथा उद्धार टोलीका एक कार्यकर्ताले नाम न छाप्ने सर्तमा घटनास्थलमा करिब ७० आप्रवासी रहेको बताए । उनले अधिकांश मानिस भेनेजुएलाका नागरिक रहेको पनि बताए । एम्बुलेन्स, भ्यान र फायर ब्रिगेडका मानिसहरू घटनास्थलका तस्विरमा देख्न सकिन्छ । मिडिया रिपोर्ट अनुसार मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश दिएको छ ।

मेक्सिकोको सिउडाड जुआरेज शहर अमेरिकाको टेक्सास राज्यको एल पासो सहर नजिकै अवस्थित छ। यो शहर मेक्सिकोको सीमाना शहरहरू मध्ये एक हो जहाँबाट आप्रवासीहरू अमेरिका प्रवेश गर्छन् । वैध कागजात बिना धेरै आप्रवासीहरू यहाँ शरण लिइ सीमा पार गर्न पर्खिरहेका हुन्छन् ।

नेपालीहरुलाई पनि दलालहरुले मेक्सिको को बाटो भएर अमेरिका पठाउने गरेका छन जसलाई निकै जोखिमपूर्ण बाटो मानिन्छ । यो रुटमा थुप्रै नेपाली मारिएका खबर यसअघि नै सार्वजनिक हुँदै आएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनको तथ्याङ्कअनुसार सन् २०१४ यता त्यहाँ ७ हजार ६ सय ६१ आप्रवासीको मृत्यु भएको वा उनीहरु बेपत्ता भएको बताइन्छ ।

प्रतिक्रिया