मंगलबार, वैशाख ३०, २०८२

कामपाको न्यायिक सम्मेलन आजदेखि

नेपालखोज २०७९ चैत १५ गते ७:०२

काठमाडाैं । न्यायिक समितिमा आउने गरेका विषय र त्यसको समाधानका उपायका विषयमा छलफल गर्ने उद्देश्यले कामपाले आज चैत १५ देखि काठमाडौँमा राष्ट्रिय न्यायिक समिति सम्मेलनको आयोजना गर्दैछ । उक्त सम्मेलनमा सहभागिताका लागि कामपाले सात सय ५२ वटै स्थानीय तहलाई निमन्त्रणा पत्र पठाएको छ ।

‘सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा पत्र पठाएका छौँ’, उपप्रमुख डङ्गोलले भन्नुभयो, “पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्यमध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ ।’ स्थानीय सरकारमा अहिले प्रयोगमा आएको न्यायिक प्रणालीलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ, यसका चुनौतीहरु के–के छन् भन्ने विषयसहित मुख्यगरी चार विषयमा छलफल केन्द्रित रहनेछ ।

सम्मेलनमा मुलुकभरिका पालिका र सम्बन्धित व्यक्तिहरूसहित एक हजारको हाराहारीको सहभागिता रहने अपेक्षा गरिएको डङ्गोलले जानकारी दिए । सम्मेलन काठमाडौँ विवाद निरुपण घोषणापत्र, २०७९ जारी गर्दै १६ गते सम्पन्न हुनेछ । न्यायिक समितिसँगै सम्बन्धित भएर न्यायिक समितिका बारेमा जनचेतना फैलाउने उद्देश्यले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहयोगमा डकुमेन्ट्रीसमेत तयार गरेको कामपाले जानकारी दिएको छ ।

प्रतिक्रिया