ओडिआइ- २०२३ का लागि संघर्षरत छन् ठुला भनाउँदा टिम पनि

काठमाडाैं । सन् २०२३ को एकदिवसीय विश्वकपको आयोजना भारतले गर्दैछ । उक्त प्रतियोगिताको छनोट नेपालले आगामी महिना खेल्नेछ। जहाँ एकातिर नेपाल जस्ता ईमर्जीङ टिम यो प्रतियोगितामा सहभागीताका लागि संघर्षरत छन् । क्रिकेटको यो सबैभन्दा ठूलो प्रतियोगितामा सोझै भाग लिने कुरालाई लिएर केहि बलिया टिम समेत तनावमा छन् । ती देश भारतमा हुने आईसीसी क्रिकेट विश्वकप- २०२३ बाट बाहिरिने खतरा छ । ती टिमले विश्वकपमा प्रत्यक्ष प्रवेश पाउन मुस्किल देखिन्छ ।
क्राइस्टचर्चमा हिजो मंगलबार भएको लगातारको वर्षाका कारण न्युजिल्यान्ड र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल एक बल नखेली रद्द भयो । जसका कारण श्रीलंकाको आईसीसी विश्वकपमा सिधैं छनोट हुने आशालाई ठूलो धक्का लागेको छ । खेल रद्द भएपछि दुबै टिमले सुपर लिगमा समान पाँच-पाँच अंक पाए पनि सन् २०२३ को विश्वकपमा सिधैं छनोट हुने श्रीलंकाको आशा झनै धुमिल भएको छ । श्रीलंका हाल ८२ अंकसहित नवौं स्थानमा छ र उसको एक खेल मात्र बाँकी छ, जुन मार्च ३१ मा ह्यामिल्टनमा न्यूजिल्याण्ड विरुद्धको तेस्रो एकदिवसीय खेल हो ।
अब श्रीलंकाले वेस्ट इन्डिजलाई उछिन्दै तालिकाको आठौं स्थानमा पुग्न तेस्रो एकदिवसीय खेल जित्नै पर्ने हुन्छ ।
श्रीलंकाले अन्तिम ओडिआई जितेर १० सुपर लिग अंक लिएर तालिकाको आठौं स्थानमा पुगे पनि उसको छनोट ८० अंकसहित १० औं स्थानमा रहेको दक्षिण अफ्रिकाको प्रदर्शनमा निर्भर हुनेछ।
दक्षिण अफ्रिकाको दुई खेल बाँकी
दक्षिण अफ्रिकाले हल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा दुई खेल खेल्न बाँकी छ । ती दुबै खेल जिते दक्षिण अफ्रिका श्रीलंका र वेस्ट इन्डिजलाई पछि पार्दै आठौं स्थानमा पुग्ने छ । क्राइस्टचर्चको खेल रद्द भए पनि न्युजिल्याण्ड सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ । अन्तिम खेल हारे पनि उ शीर्ष स्थानमै रहनेछ। न्यूजिल्याण्डको १६५ अंक छ र उसको एक खेल बाँकी छ ।
यी टिमले प्रत्यक्ष प्रवेश पाईसकेका छन्
आईसीसीले सार्वजनिक गरेको वरियतामा यो विश्वकपका लागि ७ टिम छनोट भैसकेका छन् । न्यूजिल्याण्ड, इंग्ल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया र अफगानिस्तान जस्ता देशले ओडिआइ- २०२३ मा प्रत्यक्ष प्रवेश पाएका छन् । चाखलाग्दो कुरा के छ भने आफ्नो उत्कृष्ट प्रदर्शनका आधारमा श्रीलंका, वेस्ट इन्डिज र दक्षिण अफ्रिका जस्ता टिमलाई पछि पार्दै नयाँ टिम अफगानिस्तानले विश्वकप खेल्ने टिकट पाएको छ । श्री लंका र वेस्ट इन्डिज यो छनोट बाट बाहिरिए पनि उनिहरुका लागि अन्तिम अवसर भने बाँकि रहनेछ ।
भारतले एकदिवसीय विश्वकप- २०२३ एक्लै आयोजना गरिरहेको छ। यस्तो अवसर उसले पहिलो पटक पाएको हो ।
प्रतिक्रिया