शुक्रबार, वैशाख १४, २०८१

बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख चाहिने

नेपालखोज २०७९ चैत १६ गते ७:३९

काठमाडाैं । नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहरभवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ । पुस्तकालयले अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ । पुस्तक तथा पत्रपत्रिका किरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेपछि त्यसको तत्काल व्यवस्थापनका लागि सो रकम माग गरिएको हो ।

सङ्घीय संसद्अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल राष्ट्रिय पुस्तकालयलको यसै साता अवलोकन भ्रमण गरेको थियो । पुस्तकालयले समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा समस्या समाधान र कार्यान्वयनका लागि बुक¥याकमा भण्डारण गरिएका १ लाख ५० हजार मध्ये ५० हजार सामग्रीलाई तत्काल धमिरा, ओसबाट बचाउन १० लाख, करिब १ लाख २५ हजार सामग्रीको कागजी तथा डिजिटल रेकर्ड राख्न १० लाख अनुमानित लागत पेस गरेको छ ।

त्यस्तै ५ हजार दुर्लभ सामग्रीको डिजिटलाइजेसन गरी पुस्तकालयको सफ्टेवरमा राख्न १० लाख, अत्याधुनिक सिसी क्यामरा प्रणाली जडान गर्न १० लाख, अत्याधुनिक सर्भर र ब्याकअप प्रणाली जडान गर्न १० लाख, नेपाल सरकारका मातहतमा रहेका पुस्तकालय अनलाइनमा उपलब्ध गराउन ५ लाख, बाल पुस्तकालय शाखा निर्माणका लागि २५ लाख र अन्य मेसिनरी औजार उपकरणको लागि ५ लाख गरी जम्मा ८५ लाख पुस्तकालयले अनुमानित लागत माग गरेको छ ।

प्रतिक्रिया