आईपीएलका बारे १६ प्रश्न र तिनका उत्तरहरू

एजेन्सी । आईपीएल अर्थात इन्डियन प्रिमियर लिग १६ औं वर्षमा प्रवेश गरेको छ । यसपटक आईपीएलको ट्रफी जित्न १० टिमका करिब २ सय ४३ क्रिकेटरले ५२ दिनसम्म आपसमा प्रतिस्पर्धा गर्नेछन् । पछिल्ला केही वर्षहरूमा के देखिदै आएको छ भने जब आईपीएल खेलहरू संचालनमा हुन्छन् त्यतिबेला यससँग सम्बन्धित समाचारहरू मैदानमा मात्र नभई टेलिभिजन, ओटीटी र सोशल मिडियाहरुमा पनि हावी हुन्छन्।
आईपीएल विगत केही वर्षदेखि गुगलमा सबैभन्दा धेरै खोजिने कि-वर्ड समेत भएको छ । मानिसहरूले इन्टरनेटमा आईपीएलसँग सम्बन्धित सबै कुरा हेर्ने र पढ्ने काम मात्र गर्दैनन् त्यसलाई ठूलो संख्यामा सेयर र लाइक पनि गरिन्छ । गुगलमा मानिसहरूले आईपीएलका बारेमा के खोज्छन् त ? हेरौं केहि प्रश्न र तिनका उत्तरहरू :
आईपीएलको फुल फर्म के हो ?
आईपीएलको पूरा नाम इन्डियन प्रिमियर लिग हो । आईपीएल क्रिकेट लिगका रूपमा खेलिन्छ जुन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बिसिसिआइ ( BCCI ) द्वारा संचालित हुन्छ ।
आईपीएल कहिले सुरु भयो ? कुन टिमले यसको पहिलो उपाधि जितेको थियो ?
आईपीएल सन् २००८ मा सुरु भएको थियो । यसको पहिलो संस्करणमा आठ टिम सहभागि थिए। ती आठ टिममा राजस्थान रोयल्स, किंग्स इलेभेन पञ्जाब, चेन्नई सुपर किंग्स, दिल्ली डेयरडेभिल्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर तथा डेक्कन चार्जर्स थिए । पहिलो संस्करणको फाइनलसम्म कुल ५९ खेल खेलिएका थिए । आईपीएल को पहिलो संस्करणको फाइनल १ जुन २००८ मा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स बीच खेलिएको थियो जसमा राजस्थान रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
चेन्नई सुपर किंग्सले पाँच विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले खेल तीन विकेटले जित्यो । कप्तान सौरभ गांगुली प्रतियोगिताको पहिलो खेलको विजेता थिए, जबकि शेन वार्न ट्रफी कब्जा गर्ने पहिलो कप्तान थिए। सन् २००८ मा भएको आईपीएलको पहिलो खेलमा ब्रेन्डन म्याकुलम र सौरभ गांगुलीले ओपनरका रूपमा इनिङ्स सुरु गरेका थिए ।
आईपीएलको पहिलो खेल कुन-कुन टिम बिच भएको थियो ?
आईपीएल को पहिलो खेल १८ अप्रिल २००८ मा रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्स बीच खेलिएको थियो जसमा कोलकाता नाइट राइडर्सले १४० रनको कीर्तिमानी अन्तरले जित हात पार्यो ।
टस जितेर रोयल च्यालेन्जर्सले कोलकातालाई पहिले ब्याटिङ गर्न आह्वान गरेको थियो । कोलकाताले २० ओभरमा तीन विकेट गुमाएर २ सय २२ रनको पहाड खडा गरेको थियो । उक्त खेलमा बेंगलोरको टिम नराम्रो सँग असफल भयो र ८२ रनमै अलआउट भयो । बेंगलोरका एक ब्याट्सम्यानले मात्र दोहोरो अंक पार गर्न सफल भए (प्रवीण कुमारले १८ रन बनाए)। १ सय ४० रनको अन्तरले यो जित आइपिएलमा सबैभन्दा ठूलो अन्तरले जित्ने कीर्तिमान पनि हो ।
आईपीएलमा सर्वाधिक रन बनाएर जित्ने कीर्तिमान कुन हो ?
विराट कोहलीको टिमले आईपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि १ सय ४० रनको जित हात पारेको रेकर्ड तोडेको हो । २०१६ मा रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात लायन्सलाई १ सय ४४ रनले हराएको कोलकाताको आठ वर्ष पुरानो कीर्तिमान तोडयो । तर, बेंगलोरको यो कीर्तिमानलाई सुधार्दै मुम्बई इन्डियन्सले २०१७ मा दिल्ली क्यापिटल्सलाई १ सय ४६ रनले हराएको थियो, जुन अझै पनि आईपीएलमा सबैभन्दा धेरै रन अन्तर्को कीर्तिमान जित हो ।
थोरै रन अन्तरले जित्ने टिम कुन हो ?
आईपीएलमा सबैभन्दा कम एक रनले जित्ने पहिलो कीर्तिमान सन् २००८ मा खेलिएको ४५ औं खेलमा बनेको थियो । त्यसपछि किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई मात्र एक रनले पराजित गरेको थियो । त्यसपछि १० वटा खेलमा फेरि यस्ता अवसर आए अर्थात् आईपीएलमा अहिलेसम्म ११ पटक १ रनको अन्तरले जित भएको छ । यसैगरि १० पटक कुनै टिमले दुई रनले खेल जितेको छ भने आठ खेल तीन रनले जितेको रेकर्ड छ ।
आईपीएलमा पहिलो छक्का कसले हान्यो ?
आईपीएलको पहिलो छक्का सन् २००८ को पहिलो खेलमा ब्रेन्डन म्याकुलमको ब्याटबाट आएको थियो । पहिलो खेलको दोस्रो ओभरको चौथो बलमा उक्त छक्का प्रहार भएको थियो । जसको बलमा पहिलो छक्का प्रहार भएको थियो ती बलर जहिर खान थिए । जाहिरको उक्त ओभरमा म्याकुलमले पहिले चौका र त्यसपछि छक्का प्रहार गरे अर्थात् पहिलो चार र पहिलो छक्का प्रहार गर्ने ब्याट्सम्यान ब्रेन्डन म्याकुलम थिए भने पहिलो चौका र छक्का खाने बलर जहिर खान थिए ।
आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कसको नाममा छ ?
वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेलले आईपीएलमा ३ सय ५७ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्, जुन अन्य क्रिकेटरको भन्दा बढि हो । दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिभिलियर्स २ सय ५१ छक्कासहित दोस्रो स्थानमा छन् । भारतका रोहित शर्मा (२ सय ४० छक्का) र महेन्द्र सिंह धोनी (२ सय २९ छक्का) गरि त्यस पछाडि छन् ।
आईपीएलमा सबैभन्दा बढी चौका कसले प्रहार गरेका छन् ?
आईपीएलमा भारतका शिखर धवनले सर्वाधिक ७ सय १ चौका प्रहार गरेका छन् । विराट कोहली (५ सय ७८) दोस्रो , अस्ट्रेलियाका डेभिड वार्नर (५ सय ६१) तेस्रो, रोहित शर्मा (५ सय १९ चौका) चौथो तथा सुरेश रैना (५सय ६ चौका) पाँचौं स्थानमा छन् ।
आईपीएलको पहिलो शतक कसले बनाए ? आईपीएलको पहिलो खेलमा एक मात्र शतक हानियो र यो ब्रेन्डन म्याकुलम (केकेआर) को ब्याटबाट आएको थियो। म्याकुलमले ७३ बलमा १० चौका र १३ छक्का प्रहार गर्दै अविजित १ सय ५८ रन बनाएका छन । म्याकुलम पछि माइकल हसी (चेन्नई सुपर किंग्सका लागि १ सय १६ नटआउट), एन्ड्रयू साइमन्ड्स तथा २००८ मा एडम गिलक्रिस्ट थिए।
आईपीएलमा सर्वाधिक रन र कम बलमा शतक कसले बनाए ?
आईपीएलको सबैभन्दा ठूलो स्कोर क्रिस गेलको नाममा छ । गेलले रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै २०१३ मा पुणे वारियर्स विरुद्ध अविजित १ सय ७५ रन बनाएका थिए जुन आईपीएलमा अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो । उक्त खेलमा गेलले मात्र ३० बलमा शतक बनाएका थिए जुन आईपीएलमा अहिलेसम्मकै कम बलमा शतक बनाउने कीर्तिमान हो । गेलअघि यो कीर्तिमान राजस्थान रोयल्सका युसुफ पठानको नाममा थियो । पठानले सन् २०१० मा मुम्बई इन्डियन्सविरुद्ध ३७ बलमा सय रन बनाएका थिए ।
आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान को हुन् ?
सन् २०२२ सम्म आइपिएलमा कुल ७५ शतक प्रहार भएका छन् । सन् २०२२ मा सबैभन्दा बढी आठ शतक र सन् २००९ मा कम्तिमा दुई शतक बनेका थिए । यससँगै सर्वाधिक व्यक्तिगत शतकको कीर्तिमान क्रिस गेलको नाममा छ जसले आईपीएलमा कुल ६ शतक प्रहार गरेका छन् । विराट कोहली र जोस बटलर पाँच – पाँच शतक बनाएर दोस्रो स्थानमा छन् भने डेभिड वार्नर, शेन वाट्सन तथा केएल राहुल चार – चार शतकसहित तेस्रो स्थानमा छन् ।
आईपीएलमा सबैभन्दा धेरै शून्य ( जिरो ) मा आउट हुने क्रिकेटर को हुन ?
रोहित शर्मा र मनदीप सिंह जसले १४ पटक आफ्नो खाता पनि खोल्न सकेनन् । यसैगरि १३ पटक शून्यमा आउट भएका ६ जना खेलाडी छन् । जो हुन् – पियुष चावला, हरभजन सिंह, दिनेश कार्तिक, अम्बाती रायडु, अजिंक्य रहाणे तथा पार्थिव पटेल ।
आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी को हुन् ?
विराट कोहलीले आईपीएलमा अहिलेसम्म २ सय २३ खेल खेलिसकेका छन् । ६,६२४ रन बनाएर विराट आईपीएलको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । विराटपछि शीर्ष ५ ब्याट्सम्यानको सूचीमा शिखर धवन (६२४४ रन), डेभिड वार्नर (५८८१ रन), रोहित शर्मा (५८७९ रन) तथा सुरेश रैना (५५२८ रन) छन् ।
आईपीएलमा सर्वाधिक विकेट लिने बलर को हुन् ?
चेन्नई सुपर किंग्सका ड्वेन ब्राभोले सर्वाधिक १ सय ८३ विकेट लिएका छन् । लसिथ मालिंगा (१ सय ७० विकेट) का साथ दोस्रो, अमित मिश्रा र युजवेन्द्र चहल १ सय ६६ विकेटका साथ दोस्रो तथा पियुष चावला र रविचन्द्रन आश्विन १ सय ५७ विकेटका साथ तेस्रो स्थानमा छन् ।
आईपीएलमा डट बल बलिङमा कसको रेकर्ड छ ?
टी–२० म्याचमा धेरै रन बनाइए पनि कतिपय बलरको बलिङका कारण उनिहरु कमजोर पनि साबित भएका छन् । हामी ती बलरको कुरा गर्दैछौं जसले आईपीएलमा सबैभन्दा धेरै डट बल फालेका छन् । यसमा भुवनेश्वर कुमार १४०६ डट बलसहित शीर्ष स्थानमा छन् भने सुनिल नारायण १३९२ डट बलसहित दोस्रो स्थानमा छन् । रविचन्द्रन आश्विन १३८७ डट बल फालेर तेस्रो स्थानमा छन् ।
आईपीएलमा सर्वाधिक रन बनाउने टिम कुन हो ?
१० वर्षअघि २३ अप्रिल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुने वारियर्सविरुद्ध बेंगलुरुमा यस्तो अविस्मरणीय खेल खेलेको थियो जसमा धेरै ठूला कीर्तिमान बनेका थिए। यो त्यही खेल हो जसमा क्रिस गेलले १ सय ७५ रनको अविजित इनिङ खेलेका थिए र सबैभन्दा छिटो शतक र सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान पनि बनाएका थिए । उक्त खेलमा बेंगलोरले २ सय ६३ रनको पहाड खडा गरेको थियो जुन आईपीएलमा कुनै पनि टिमको सबैभन्दा ठूलो स्कोरको कीर्तिमान हो ।
आईपीएलमा ब्याटिङ स्ट्राइक रेट र बलिङ इकोनोमीको कीर्तिमान कसको नाममा छ ?
कोलकाता नाइट राइडर्सका आन्द्रे रसेलले १७७.८८ को स्ट्राइक रेटमा खेलेका छन् । यो आईपीएलमा कुनै पनि ब्याट्सम्यानको उत्कृष्ट स्ट्राइक रेटको रेकर्ड हो । बलिङमा उत्कृष्टताको कुरा गर्दा राशिद खान ६.३८ को इकोनोमी रेटका साथ शीर्ष स्थानमा छन् ।
प्रतिक्रिया