आइपीएलको भोजपुरी कमेन्ट्री : किन चर्चामा छ ?

नेपालखोज २०७९ चैत २१ गते १५:१०

आईपीएल के मैच एह बेरी क्रिकेट के साथे भोजपुरी कमेन्ट्री के खातिर भी चर्चा में बाटे.

कुरा बुझ्नु भयो ? हैन भने अब यसलाई नेपालीमा बुझ्नु होस् – इन्डियन प्रिमियर लिग अर्थात आईपीएलका खेलहरु यस पटक क्रिकेटका साथै भोजपुरी कमेन्ट्रीका कारण चर्चामा छन् । जियो सिनेमा सँग आईपीएलका खेलहरू देखाउने डिजिटल अधिकार छ । उक्त प्लेटफर्ममा १२ वटा भाषामा आईपीएलका खेलको कमेन्ट्री सुन्न तथा हेर्न सकिन्छ । ती १२ भाषा हुन् – अंग्रेजी, हिन्दी, मराठी, गुजराती, पञ्जाबी, उडिया, बंगाली, तमिल, तेलुगु, मलयालम, कन्नड तथा भोजपुरी ।

यद्यपि अहिले जसको टिप्पणीले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ, त्यो भोजपुरी भाषाको कमेन्ट्री हो । पञ्जाबी र भोजपुरी भाषाले पहिलो पटक आईपीएलको प्रत्यक्ष प्रशारणमा स्थान बनाएका हुन । भोजपुरीमा आईपीएलका खेलको टिप्पणी गर्नेहरूमध्ये भाजपा सांसद तथा अभिनेता रवि किशन एक महत्त्वपूर्ण नाम हुन । अहिले सामाजिक सञ्जालमा रवि किशनको भोजपुरी कमेन्ट्रीको चर्चा भैरहेको छ । रवि किशनलगायत भोजपुरी कमेन्टेटरको कमेन्टमा कतिपयले खुसी व्यक्त गरेका छन् भने कतिपयले आलोचना पनि गरिरहेका छन् । रवि किशनसँगै गुलाम हुसेनले भोजपुरीमा कमेन्ट्री गरेको सुन्न पाइन्छ ।

भोजपुरी कमेन्ट्रीमा के भने रवि किशनले ? रवि किशनले भने, ‘म क्रिकेटको ठूलो फ्यान हुँ । मैले भोजपुरी कलाकारहरुको टिमबाट साथी मनोज तिवारीसँग पनि क्रिकेट खेलेको छु । यस्तो अवस्थामा आफ्नो मातृभाषामा क्रिकेटको कमेन्ट्री गर्न पाउउनुले यसलाई अझ विशेष बनाउँछ । मेरो मातृभाषाका लागि सक्दो गर्ने दायित्व मेरो हो ।

आईपीएल खेलहरूमा भोजपुरी भाषाको कमेन्ट्रीको प्रतिक्रियाका बारेमा रवि किशनले भने, “भोजपुरी भाषाको कमेन्ट्रीले धेरै राम्रो प्रतिक्रिया पाएको छ। सबै भोजपुरी भाषीहरूलाई धन्यवाद । जय भोजपुरी। बडो आनन्द आयो। तपाईहरु यसैगरि भोजपुरी कमेन्ट्रीको मजा लिइरहनु होस ।

सन् २०११ को जनगणना प्रतिवेदनअनुसार भारतमा करिब पाँच करोड मानिस भोजपुरी बोल्छन् । यद्यपि विभिन्न अवसरहरूमा मानिसहरूले भोजपुरी बोल्नेहरूको संख्या फरक-फरक बताउँछन् । बीजेपी सांसद रवि किशनले हालै एक भिडियोमा सारा संसारमा भोजपुरी बोल्नेहरुको संख्या २५ करोड रहेको बताए ।

भोजपुरी विश्वका १५ भन्दा बढी देशमा बोलिन्छ। ती देशमा नेपाल सहित मरिसस, फिजी, ट्रिनिडाड र टोबागो तगा दक्षिण अमेरिकाका टापुहरू छन् । भोजपुरी मुख्यतया भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशमा बोलिन्छ । यसबाहेक मध्य प्रदेश र छत्तीसगढ जस्ता राज्यहरूमा भोजपुरी बोल्नेहरू पनि राम्रो सङ्ख्यामा छन्। यस्तो अवस्थामा जब आईपीएलको कमेन्ट्री भोजपुरीमा गराउने निर्णय भयो, त्यसको एउटा कारण भोजपुरीको ठूलो बजार हुनु पनि थियो ।

भोजपुरी कमेन्ट्रीमा के भनियो केहि उदाहरण

-..और इ गेंदा गइल छपरा रेलवे स्टेशन के टिकट काउन्टर पार

– ई तो दु तल्ला, तीन तल्ला पर चल जाई. आरा छपरा चल जाई

– ई का हो, मुहवां फोडब का ? नो बाल

– गंगा के तीरे, ई शाट नाही बा हो धीरे

– अरे उठाके हेलिकप्टर घुमाइ देला. बहरा जाता छक्का. जियो रे बाबू. जियो जवान

भोजपुरी कमेन्ट्रीको प्रशंसा

७४ दिनको आईपीएल प्रतियोगिता अहिले प्रारम्भिक चरणमा छ तर, भोजपुरी कमेन्ट्रीमा आउने प्रतिक्रिया भने अपेक्षाकृत भन्दा बढी छन् । केहीले भोजपुरी कमेन्ट्रीको प्रशन्सा गरिरहेका छन् त कसैले आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा कसले के लेखे ? भावना अरोराले लेखेकी छिन्, ‘आईपीएलको कमेन्ट्री धेरै भाषामा भैरहेको छ तर क्षेत्रीयताको वास्तविक अनुभूति भोजपुरीमा देखिएको छ । हे भगवान!”

सूर्यले लेखेका छन्, “भारत पाकिस्तान म्याचमा कमेन्ट्रीका लागि रवि किशनलाई ल्याउनुपर्यो ।” उज्ज्वल सिन्हाले ट्विट गर्दै भने, “यसपटकको आईपीएलको सबैभन्दा राम्रो कुरा – भोजपुरी कमेन्ट्री ।” नबिल जैदीले लेखेका छन्, ‘आईपीएलको पहिलो खेलमा चेन्नई पराजित भएपछि म दुखी भएँ र त्यसपछि भोजपुरी कमेन्ट्रीतिर लागेँ । यो शुद्ध आनन्द हो। सागर नामका एक प्रयोगकर्ताले पनि मेम सेयर गरेका छन् । उक्त मेममा भोजपुरी कमेन्ट्रीका दुई लाइन लेखिएका छन्-सट्ट से अंदर घुस गइल. बाप रे किल्ला उखड़ गइल.

भोजपुरी कमेन्ट्रीको आलोचना

यद्यपि भोजपुरी कमेन्ट्रीको आलोचना गर्नेहरु पनि छन् । नवीन तिवारीले लेखेका छन्, ‘यो एकदमै बेकार भोजपुरी कमेन्ट्री हो। कुनै बेकार सिनेमाको भोजपुरी डबिङ जस्तो । भोजपुरी कमेन्ट्रीमा आरा, छपरा, गोपालगञ्ज जस्ता ठाउँमा बल खस्ने कुरा पनि भनिन्छ। यसमा नवीन लेख्छन्– यो विषयमा यस्तो कुराकानी एक–दुई पटक हुन सक्छ । पछि यो नै बोरिंग हुन थाल्छ।

अजित यादव लेख्छन्, “हरेक जिल्लामा भोजपुरी बोल्ने शैली अलगअलग हुन्छ, त्यसैले कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन।” प्रियांशु कुशवाहाले ट्वीट गर्दै भनेका छन , ‘आईपीएलको भोजपुरी कमेन्ट्री सुन्दै । जीयो सिनेमाले राम्रो प्रयास गरेको छ, तर एउटा गुनासो छ। जसलाई भोजपुरी कमेन्ट्रीका लागि पनि छनोट गरिएको छ । पहिले ट्युसन पठाएर भोजपुरी सिकाउनुस् नत्र उसलाई कालापानीको सजाय दिनुहोस् । आफ्नो मातृभाषाको यस्तो अपमान सहनयोग्य छैन ।

अभिनव मौर्यले ट्वीट गर्दै भनेका छन्, ‘जो सँग क्रिकेटको अलिकति पनि अनुभव छैन । यदि तपाईंले उसलाई टिप्पणी गर्न भन्नुभयो भने तपाईं के आशा गर्न सक्नुहुन्छ ? बिहार र यूपीबाट भोजपुरीमा राम्रो कमेन्ट्री गर्न सक्ने धेरै क्रिकेटरहरू छन्। उहाँहरुलाई अगाडि ल्याउनुपर्थ्यो ।

देवेन्द्रले लेखेका छन्, ‘भोजपुरी कमेन्टरीको नाममा जे पनि भनिरहेका छन् । उदाहरण हेर्नुहोस्- विराट कोहली खेलत नइखन, गेंदबाज़ के साथ खिलवाड़ करत बाड़े. पुअरा के पलानी बनावत बाड़े. ई शाट ना ह, दाल भात चोखा ह.”

प्रतिक्रिया